कोभिडविरुद्धको खोपमाथि प्रश्न उठाउने पत्रकारको कोभिडकै कारण निधन

कोभिडविरुद्धको खोपमाथि प्रश्न उठाउने पत्रकारको कोभिडकै कारण निधन

केन्द्रबिन्दु
0
Shares

सबै मानिसले कोभिडविरुद्धको खोप लगाउन जरुरी छैन भन्ने अमेरिकी पत्रकार फिल भ्यालेन्टिनको कोभिडका कारण शनिबार मृत्यु भएको छ। उनको मृत्युबारे जानकारी उनी कार्यरत रेडियोले ट्वीटरमार्फत् दिएको थियो। 

आफूलाई कोभिड संक्रमण भएको बताएको एक महिनापछि उनको मृत्यु भएको हो। आफ्नो कार्यक्रममा बारम्बार भ्यालेन्टिनले खोपको आवश्यकता खासै नभएको जिकिर गर्दै आएका थिए। 

डिसेम्बरमा उनले आफू काभिडका कारण मर्ने सम्भावना एक प्रतिशतभन्दा कम भएको बताएका थिए। 

विश्वको पहिलो डीएनए कोभिड खोप भारतमा स्वीकृत 
यसैबीच बीबीसीका अनुसार  भारतको औषधि नियामक निकायले आपत्कालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको छ।

तीन मात्रा दिनुपर्ने जाईकोभ-डी (ZyCoV-D) नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादन गर्ने कम्पनी क्याडिला हेल्थकेअरले गरेको एउटा अध्ययनमा उल्लेख छ।

उक्त कम्पनीले प्रत्येक वर्ष एक करोड २० लाख मात्रा खोप उत्पादन गर्ने योजना बनाएको छ। यो भारतमै निर्मित दोस्रो कोभिड खोप हो।

यसअघि निर्माण गरिएका डीएनए खोपहरूले पशुमा मात्र राम्ररी काम गरेका थिए।

भारतमा कोभिशील्ड, कोभ्याक्सीन र स्पुत्निक भी गरी तीन किसिमका खोप प्रयोगमा छन्। अहिलेसम्म ती खोपका ५७ करोड मात्रा दिइसकिएको छ।

क्याडिला हेल्थकेअरका अनुसार उक्त खोपको भारतमा गरिएको सबैभन्दा ठूलो क्लिनिकल परीक्षणमा २८,००० जना स्वयंसेवी सहभागी भएका थिए। त्यसका लागि ५० वटाभन्दा बढी केन्द्रहरू सञ्चालित भएको उसले जनाएको छ।

उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड-१९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ। उक्त खोप त्यो उमेर समूहका मानिसमा "सुरक्षित र एकदमै सह्य" भएको पाइएको क्याडिला हेल्थकेअरको दाबी छ।

उक्त खोपको क्लिनिकल परीक्षणको तेस्रो चरण भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको बेला गरिएको थियो। त्यसबाट विशेषगरी अतिसङ्क्रामक डेल्टा भेरिअन्टजस्तो कोरोनाभाइरसको "उत्परिवर्तित प्रकारविरुद्ध" उक्त खोपको प्रभावकारिता सिद्ध भएको खोपनिर्माताको विश्वास छ।

"म यो खोपबारे उत्साहित छु किनभने यसले निकै राम्रो क्षमता देखाएको छ। यो खोपले काम गर्‍यो भने भविष्यमा खोप अभियान व्यावहारिक रूपमा अझ सहज हुन्छ," भाइरसविद् प्रा. शाहिद जमीलले भने।

Logo