काबुल एयरपोर्टमा बम आक्रमण भएपछि अस्ट्रेलियाले उद्धार कार्य रोक्यो

काबुल एयरपोर्टमा बम आक्रमण भएपछि अस्ट्रेलियाले उद्धार कार्य रोक्यो

केन्द्रबिन्दु
0
Shares

काबुल एयरपोर्टबाहिर इस्लामिक स्टेट (आइएस) ले आत्मघाती बम बिस्फोट गरि कैयौँ सर्वसाधारण र १३ जना अमेरिकी सैनिकको ज्यान लिएपछि अस्ट्रेलियाले उद्धार कार्य स्थगित गर्ने निर्णय लिएको छ। शुक्रबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले त्यस्तो निर्णय सार्वजनिक गरेका हुन्। 

आक्रमण हुनुभन्दा केही घण्टा पहिले नै अस्ट्रेलियाली सैनिकको उद्धार गरिसकिएको र न्यून सुरक्षाको वातावरणमा उद्धार कार्य अघि बढ्न नसक्ने मोरिसनले जनाएका छन्। 

पछिल्ला ९ दिनमा चार हजारभन्दा बढी अस्ट्रेलियाली र अफगान नागरिकको उद्धार भएको पनि प्रधानमन्त्री मोरिसनले बताएका छन्। 

‘निर्दोष र सहासी मानिसहरूमाथि काबुल एयरपोर्टबाहिर हिजो भएको बद्नियतपूर्ण र अमानवीय आक्रमणको अस्ट्रेलिया भर्त्सना गर्दछ,’ मोरिसनले भने। 

उता क्यानडाले पनि उद्धार कार्य बन्द गर्ने भएको छ भने बेलायतले आफ्नो उद्धार कार्य कहिलेसम्म चल्नेछ भन्ने टुंगो लगाएको छैन। 

फ्रान्सले भने शुक्रबार बेलुकासम्म आफ्नो उद्धार कार्य सफल हुने जनाएको छ। 

तस्बिरः रोयटर्स

Logo