उद्धारका लागि अमेरिकाले तालिवानलाई नामावली पठायो

उद्धारका लागि अमेरिकाले तालिवानलाई नामावली पठायो

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले तालिवानलाई अमेरिकी नागरिक र अफगान सहयोगीको नाम दिएको खुलासा भएको छ। 

उद्धारका लागि भन्दै अमेरिकी अधिकारीले तालिवानलाई जानकारी उपलब्ध गराएको अमेरिकी सञ्चारमाध्यम ‘पोलिटिको’ले खुलाएको छ। 

अफगानिस्तानमाथि तालिवानले कब्जा जमाएपछि आफ्ना नागरिक र अफगान सहयोगीको उद्धार गरिरहेको अमेरिकाले काबुलस्थित एयरपोर्टको बाहिरी परिधिमा प्रवेश अनुमति दिन आग्रह गर्दै नाम उपलब्ध गराएको हो। 

अमेरिकी राष्ट्रपतिको कार्यालयले ‘सीमित जानकारी साटासाट गर्दा ज्यान जोगाउन सहज हुने’ बताएको भए पनि त्यस्तो कदमले अफगानिस्तानस्थित अमेरिकी समर्थकलाई खतरामा पार्ने भन्दै आलोचना भइरहेको छ। 

‘ती सबै अफगान अब मारिनेको सूचीमा समावेश हुनेछन्,’ एक अमेरिकी सुरक्षा अधिकारीले पोलिटिकोलाई बताएका छन्। 

तालिवानले काबुलमाथि कब्जा जमाएसँगै उनीहरू घर घर जाँदै अमेरिकी र नेटो सेनालाई सहयोग गर्नेहरूको खोजी गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका छन्। 

अमेरिकाले तालिवानलाई यसरी नाम उपलब्ध गराउनुले अमेरिकी सेनाले एयरपोर्टको बाहिरी क्षेत्रको नियन्त्रण कुन हदसम्म तालिवानको हातमा पर्न दियो भन्ने देखाएको ‘पोलिटिको’को ठम्याइ छ।   

उद्धारका लागि तालिवानसँग समन्वय हुँदै आएको अमेरिकी अधिकारीहरूले पनि स्वीकार गरेका छन्। पेन्टागन प्रवक्ता जोन कर्बीले अमेरिकी अधिकारीहरू कसलाई काबुल एयरपोर्ट छिर्न दिने भन्नेबारे तालिवानसँग दैनिक सम्पर्कमा रहेको यसै हप्ता खुलासा गरेका थिए। 

एयरपोर्टबाहिर इस्लामिक स्टेट (आइएस)ले दुई पटक बिस्फोट गरेपछि यस्तो समाचार बाहिर आएको हो। 

यस किसिमको आक्रमणपछि तालिवानसँग समन्वय गर्ने अमेरिकी नीतिको चर्को आलोचना हुन थालेको छ। अमेरिकाको सिनेटको परराष्ट्र सम्बन्ध समितिका अध्यक्ष बब मेन्डेजले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिकी सुरक्षाको मामिलामा हामी तालिवानको भर पर्न सक्दैनौँ।’

 
 

Logo