जर्मनीमा ‘डेलिभरी’को काम गर्दै अफगानिस्तानका पूर्वमन्त्री

जर्मनीमा ‘डेलिभरी’को काम गर्दै अफगानिस्तानका पूर्वमन्त्री

केन्द्रबिन्दु
0
Shares

सायेद सदात राष्ट्रपति असरफ घानीको सरकारमा अफगानिस्तानका सञ्चार मन्त्री थिए। सन् २०१८ मा मन्त्री पदबाट राजिनामा दिएका सदात गत डिसेम्बरमा असल भविष्यको खोजीमा मन्त्री पद त्यागेर जर्मनी पुगेका थिए। 

जर्मनीको दक्षिणी सहर लाइपजिगमा हाल उनी ‘डेलिभरी म्यान’का रूपमा कार्यरत छन्। 

दुई वर्ष मन्त्री भएर काम गरिसकेपछि पनि ‘सानो’ काममा लागेको भनी स्वदेशमा उनको आलोचना हुँदै आएको उनी बताउँछन्। तर, उनका लागि ‘काम भनेको काम हो’।

‘मैले ग्लानी हुने त्यस्तो केही पनि गरेको छैन,’ सुन्तला रंगको पोसाक लगाएर काममा हिँडेका ४९ वर्षिय सदात भन्छन्।

राष्ट्रपति घानीको समूहसँग विमति भएपछि मन्त्री पदबाट राजीनामा दिएको उनी बताउँछन्। 

‘लुक्नुभन्दा सर्वसाधारणका लागि काम गर्नु गौरवको कुरा हो। सबै राजनीतिज्ञहरूले यो कुरालाई आत्मसात गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने। 

तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि उनका परिवार र इष्टमित्र पनि देश छोड्ने तरखरमा छन्। अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउने निर्णय गरेसँगै अफगानिस्तान छोडेर जर्मनीमा शरण लिनेहरूको संख्या बढ्दो छ। १३० प्रतिशतले त्यस्तो संख्या वृद्धि भएको जर्मनीका सरकारी निकायको तथ्याङ्कले देखाउँछ। 

बेलायतको पनि नागरिकता भएका सदात बेलायत जान सक्थे, तर बेलायत युरोपेली युनियनबाट बाहिरिने निर्णय कार्यान्वयन हुनु केही समयअगावै उनी जर्मनी पुगेका थिए। टेलिकम र सूचना प्रविधिमा अब्बल भएको र उज्ज्वल आर्थिक अवस्था भएको कारण आफूले जर्मनी रोजेको उनी बताउँछन्। 

टेलिकम र सूचना प्रविधि अध्ययन गरेका सदात त्यसै क्षेत्रको कामको खोजीमा थिए। तर, जर्मन भाषा नजानेकाले उनी त्यता जान सकेनन्। 
‘भाषा महत्वपूर्ण छ,’ उनी भन्छन्। 

खाद्य व्यवसाय गर्दै आएको लिफरेन्डो कम्पनीका लागि बेलुकी ६ घण्टा सामान ओसारपसार (डेलिभरी)को काम गर्नुभन्दा अगाडि उनी चार घण्टा जर्मन भाषा सिक्न जान्छन्। 
(रोयटर्सको सहयोगमा)

  
 

Logo