अफगान महिला प्रहरी भन्छिन्: तालिबान खतरनाक अतिवादी समूह हुन्

अफगान महिला प्रहरी भन्छिन्: तालिबान खतरनाक अतिवादी समूह हुन्

केन्द्रबिन्दु
0
Shares

आफूलाई तालिबानले निर्घात कुटेपछि अफगानिस्तानकी एक महिला प्रहरी अधिकारी केही दिनदेखि ज्यान जोगाउन देशभित्रै भौँतारिइरहेकी छन्। महिलाविरुद्ध तालिबान सत्ता कठोर बनेका खबर सार्वजनिक भइरहेका बेला महिला प्रहरी अधिकारी गुलाफरज इबतेकरलाई ज्यान जोगाउनै हम्मे भएको हो।

३४ वर्षीय गुलाफरज इबतेकर अफगानिस्तानको अपराध शाखाकी उपप्रमुख थिइन्। उनी अफगान महिलाका लागि रोलमोडल नै थिइन्। केही दिनअघि हमिद कराजाई विमानस्थलमा देखिएकी उनलाई बारम्बार तालिबानले धम्की दिँदै आएका थिए। 

विदेशी सेनासँगै काबुल छाड्न उनी पाँच रात विमानस्थलमा बसिन् तैपनि उनले देश छाड्न सकिनन्। ‘म र मेरो परिवारको जीवन रक्षाको माग गर्दै मैले विभिन्न देशका दूताबासमा गरेका सबै प्रयत्न असफल भए’, उनी भन्छिन्। 

प्रहरी प्रतिष्ठानबाट स्नातकोत्तर गुलाफरजलाई अमेरिकी सेनाले सहयोग गर्ने विश्वास थियो। उनी सहारा खोज्दै अमेरिकी शरणार्थी शिविरमा पुगिन्। उनी नजिकै केही अमेरिकी सेना उभिएकाले उनलाई लाग्यो, 'अब सुरक्षित स्थानमा पुगियो।'

‘मैले केही अंग्रेजी बोल्थेँ। काबुलमा म सुरक्षित छैन भनेँ। मसँग मेरो परिचयपत्र, पासपोर्ट र प्रहरीसम्बन्धी कागजात थिए’, उनी भन्छिन्।

‘तिमी कहाँ जान चाहन्छ्यौ ?’, अमेरिकी सेनाले सोधे ।  

‘ढुक्कसँग बाँच्न पाउने जुनसुकै देशमा’, उनले जबाफ फर्काइन्। त्यसपछि सेनाले ‘हुन्छ’ भनेर एउटा गाडीमा विमानस्थल जाने बाटो देखाउन थाले। 

दुर्भाग्यवश ! अमेरिकी सेनाले उनलाई अतिवादी हमला भएको बाटो हुँदै विमानस्थल लैजान खोजे, जहाँ एक बन्दुकधारीले हतियार तेर्स्याउँदै भने, ‘गाडीबाट तुरुन्त बाहिर निस्क।’

उनी गाडीबाट निस्किएपछि तालिबानले उनलाई कुटे। 

रुसको एउटा प्रख्यात प्रहरी प्रतिष्ठानबाट स्नातकोत्तर गरेकी गुलाफरजलाई मस्को दूताबासले पनि सहयोग गरेन । आमअफगानीको जीवनमा परिवर्तन ल्याउने लक्ष्यसँगै उनी रुसबाट फर्किइन्। स्वदेश फर्किनेबित्तिकै उनले गृह मन्त्रालयमा जागिर पाइन्।  

‘स्वदेश फर्किएपछि म मन्त्रालयअन्तर्गतको अपराध महाशाखाको उपप्रमुख बनेँ’, उनले भनिन्।

विमानस्थलबाट फर्काइएपछि उनी घर पुगिन्। तालिबानले उनलाई घरमै आएर चेतावनी दिएका रहेछन्। उनी घरबाट पुनः विमानस्थल भागिन्। विमानस्थलमा पुग्दा तालिबानले उनलाई ढुंगाले हिर्काए।  

गुलाफरजलाई तालिबानले दुःख दिएको देखेर उनका सहकर्मी पनि दुःखित छन्। गुलाफरजले विभिन्न टेलिभिजनमा महिला अधिकार र अतिवादबारे खुलेर बोलिन् तर अहिले उनका बारेमा बोल्ने कोही छैन।

तालिबान परिवर्तन नहुने उनको ठोकुवा छ। ‘तालिबान कहिल्यै परिवर्तन हुँदैनन्। उनीहरूले महिलालाई काम गर्न दिँदैनन्’, उनी थप्छिन्, ‘२० वर्षअघि सत्तामा पुग्दा तालिबानले ठूला सपना देखाएका थिए तर उनीहरूले मान्छे मार्नेबाहेक केही गरेनन्। उनीहरू खतरनाक अतिवादी समूह हुन्।’न्युज कारखाना

Logo