बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित, अमेरिकामा पनि कोरोना बढ्यो

बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित, अमेरिकामा पनि कोरोना बढ्यो

केन्द्रबिन्दु
0
Shares

बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।  

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ । 

बेलायतमा सङ्क्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड दिन थालिएको छ । सरकारले खोपका लागि सबैलाई आह्वान गरिरहेको छ भने बालबालिकालाई पनि खोप लगाउने गृहकार्य भइरहेको छ ।

विज्ञले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउनु उपयुक्त हुने सुझाव पनि दिएका छन् ।  

त्यस्तै, अमेरिकामा पनि  पछिल्लो समयमा कोभिड–१९ का सङ्क्रमित बढ्दै गएको पाइएको छ । 

यहाँको यस सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ । उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड–१९ का संक्रमित बढ्दै गएको देखिएको छ । 

जसमा पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि एक लाख ५० हजार जना मानिसमा यो सङ्क्रमण देखिएको छ । 

यो सङ्ख्या हरेक दिन बढेको पछिल्लो हप्ताको सबैभन्दा धेरै हो र यो अघिल्लो हप्ताको तुलनामा करिब पाँच प्रतिशतले बढ्दो छ । यहाँ बुधबारसम्मको तथ्याङ्क हेर्दा तीन करोड ९४ लाख ८८ हजार जनामा यो सङ्क्रमण देखिएको छ । 

यो हप्तामा अस्पताल भर्ना प्रतिशत पनि बढेको छ । पछिल्लो हप्ता अर्थात् अगष्ट २५ देखि ३१ सम्मको अवस्था हेर्दा यहाँका १२ हजार १५६ जना अस्पताल भर्ना भएका छन् । 

 यो प्रतिशत अघिल्लो हप्ताको भन्दा १.७ प्रतिशतले बढी हो । त्यसैगरी यो हप्ता यहाँका एक हजार ४७ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । 

 यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा ३.७ प्रतिशतले बढी हो । यसरी अमेरिकामा पछिल्लो हप्तामा सङ्क्रमित हुने, अस्पताल भर्ना हुने तथा मृत्यु हुनेको सङ्ख्या पनि बढ्दो देखिएको समाचारमा जनाइएको छ । 

  अमेरिकी संस्था सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो तथ्याङ्क सार्वजनिक गरेको हो । रासस\सिन्ह्वा

Logo