भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित

भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरसबाट थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन्। भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ। यसैसँगै सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ। 

सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन्। अघिल्लो दिन शनिबार बिहान सार्वजनिक जानकारीअनुसार एक दिनमा २४ हजार ३५४ जना नयाँ सङ्क्रमित थपिएका थिए। शनिबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्या घटेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। 

यसअघि दैनिक सङ्क्रमितको सङ्ख्या १८ हजारको हाराहारीमा पुगेकोमा अहिले फेरि बढेको हो। सङ्क्रमित र मृत्यु भएका मध्ये धेरै केरला राज्यका रहेका छन्। अन्य क्षेत्रमा महामारी कम हुँदै गएपनि केरलामा भने बढ्दै गएको पाइएको छ। हिजो एकै दिनमा केरलामा १३ हजार २१७ जना नयाँ सङ्क्रमित थपिए भने १२१ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ। 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ७० हजार ५५७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ।  

दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको हो। शनिबार दिनभर २२ हजार ८४२ सङ्क्रमित हुँदा २५ हजार ९३० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३० लाख ९४ हजार ५२९ रहेको अधिकारीले जनाएका छन्।  

भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ३२ लाख जना कोरोना परीक्षण गरिएको  छ। भारतमा गत जनवरी १६ तारिखबाट कोरोना विरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म ९० करोड ५१ लाख डोज खोप लगाइएको छ। 

Logo