बंगलादेशमा हिन्दुमाथि आक्रमण मात्र भएन, नगद-जिन्सी र चौपायासमेत चाेरिए

बंगलादेशमा हिन्दुमाथि आक्रमण मात्र भएन, नगद-जिन्सी र चौपायासमेत चाेरिए

केन्द्रबिन्दु
0
Shares

दुर्गा पूजाको क्रममा बंगलादेशमा हिन्दुहरूमाथि भएको हमलामा मंगलबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले दंगा मच्चाउनेहरुलाई कडा कारबाही गर्ने आदेश दिएकी थिइन्।

बंगलादेशमा १३ मे देखि अक्टोबर १७ सम्म ठूला हिंसात्मक घटना भए। दुर्गाका मूर्तिहरू तोडफोड भयो। हिन्दुहरूको घरमा आगो लगाइयो र हिन्दुहरुमाथि आक्रमणसमेत भयो। उक्त हिंसा अहिले पनि पूर्णरूपमा रोकिएको छैन।

हिंसात्मक गतिविधि भएको क्षेत्रमा बसोबास गर्ने टिपु डे नाम गरेका एक हिन्दुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग आफ्नो अवस्था सुनाएका छन्।

उनका अनुसार १३ अक्टोबरको दिन बिहानैबाट एक सन्देश (म्यासेज) सामाजिक सञ्चालनमा भाइरल भइरहेको थियो। उक्त सन्देशमा भनिएको थियो कोमिल्ला सहरको आनुआदि घरको पूजा मण्डपमा पवित्र कुरानको अपमान भएको छ। सबैजना एकजुट भएर यसको विरोध गरौँ। त्यसको केही क्षणबाट नै हिंसात्मक गतिविधिका समाचारहरू रेडियो टेलिभिजनमा बज्न सुरु भए।

बंगलादेशको चिटगोन्गमा बस्ने टिपुले भने ‘म २८ वर्षको भएँ। आजसम्म यस्तो किसिमको हिंसा मैले देखेको थिइनँ। मेरो घर आसपासमा त शान्त नै थियो तर बजारतर्फ रहेका हिन्दुहरुको घर, पसल सबैमा तोडफोड भइरहेको थियो।’

आक्रमणकारीहरूले भेटेका जति सबै सामानहरूसमेत लिएर गए। मन्दिरमा पनि तोडफोड भयो। घरघरमा ढुंगा हाने। पैसादेखि लिएर मालसामान सबै लिएर गए। चौपायासमेत चोरी भए।

‘सरकारले अवस्था नियन्त्रण गरिरहेको बताए पनि अवस्था विल्कुल विपरीत रहेको थियो। हिन्दु भएकै कारण हामी पनि निकै डराएका थियौं। हाम्रो घरमा पनि तोडफोड हुने डर थियो । नोआखाली क्षेत्रमा मेरो साथीको घर थियो। उनीहरूको घरमा पनि आक्रमण भयो। उनीहरू राति नै भागेर आफन्तकोमा गए। अहिले पनि बंगलादेशमा भएका हिन्दुहरू एकदमै डराएका छन्।’

समाचारहरूमा हिंसा गर्नेहरूको पहिचान भएको बताइएको छ तर उनीहरूलाई प्रशासनले अहिले पनि पक्राउ भने गरेको छैन।

त्यस्तै बंगलादेशका एक चर्चित अधिवक्ताले बंगलादेशमा भइरहेको हिंसाले देशलाई अफगानिस्तान जस्तै बनाएको बताउँछन्। 

उनले भने ‘म एक वकिल हुँ। स्वतन्त्रताको विषयमा बोल्दै आएको व्यक्ती हुँ। हिन्दु, बुद्धिस्ट, क्रिस्चियन काउन्सिलको सदस्य सचिव पनि हुँ। र पनि म यति डराइरहेको छु भने तपाइँहरू अनुमान लगाउनुहोस् यहाँ रहेका हिन्दुहरूको अवस्था के होला ? यो जुन घटना भइरहेको छ। यो भनेको हिन्दुहरूलाई देश निकाला गर्ने ठूलो षडयन्त्र पनि हो।’

पाकिस्तान र बंगालदेश छुट्टिनु अघि त्यहाँ हिन्दुहरूको जनसंख्या २९.७ प्रतिशत रहेको थियो। बंगलादेश पाकिस्तानबाट छुट्टिएको समयमा त्यो संख्या २० प्रतिशतमा झर्‍यो। अहिले बंगलादेशमा ९ प्रतिशत मात्र हिन्दुहरू रहेको तथ्यांक छ। 

बंगलादेशको संविधानमा धर्मनिरपेक्ष भन्ने शब्द जोडिएको थियो। तर सन् १९७७ मा जिया उर रहमानको सैन्य शासनको बेला धर्मनिरपेक्षता भन्ने शब्द संविधानबाट हटाइएको थियो।

त्यसपछि सन् १९८८ बाट बंगलादेश एक इस्लाम राज्यको रूपमा परिचित रहँदै आएको छ।एजेन्सी 

Logo