अफगान संकट पृथ्वीकै ठूलो मानवीय समस्या

अफगान संकट पृथ्वीकै ठूलो मानवीय समस्या

केन्द्रबिन्दु
0
Shares

राजधानी काबुलबाट ५० माइल टाढा पश्चिममा रहेको मैदान वारडकमा मानिसहरुको एउटा भिड लागेको छ। विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सहयोगमा सरकारले गहुँको पिठो बाँड्ने  भएपछि सर्वसाधारणको भिड बढेको हो। 

तालिवानले भिडलाई शान्त राख्न दबाब दिइरहेको थियो। तर, केही मानिसहरु अनुदानमा वितरण गरिएको पिठो लिन अयोग्य भएको एक सरकारी अधिकारीले बताएपछि उनीहरु आक्रोशित देखिन्थे। 

‘जाडो बढेको छ,’ एक पुरुषले भने, ‘अहिले रोटी बनाएर राख्न सकिन भने कसरी जाडो कटाउने भन्ने मलाई थाहा छैन।’

चिसो बढेसँगै अफगानिस्तान पृथ्वीकै नर्क बन्ने जोखिम छ। अधिकांश क्षेत्रमा खडेरी परेका विवरण सार्वजनिक भइरहेका छन्। कृषि उत्पादन नहुँदा भोकमरीका घटना दिनहुँ बढेका छन्। 

अफगानिस्तानमा भोकमरीमा परेका २२ लाख मानिसको खाद्य सुरक्षा गर्न डब्लूएफपीलाई चुनौती छ। 

अन्य हिउँदभन्दा यो वर्षको हिउँदमा जाडो बढ्ने विज्ञहरुले साबधानी दर्शाएका छन्। खडेरी र भोकमरीले अफगानिस्तानको ठूलो जनसंख्या प्रभावित हुने उनीहरूले बताउँदै आएका छन्।   

अफगानिस्तानको अवस्था कल्पना गरेभन्दा पनि भयाबह भएको डब्लूएफपीका निर्देशक डेभिड बिस्ले बताउँछन्। अफगान संकट पृथ्वीकै ठूलो मानवीय समस्या भएको उनको भनाइ छ। 

अफगानिस्तानका ९५ प्रतिशत मानिसलाई पर्याप्त खाना नभएको र २३ लाख मानिसहरु भोकमरीतर्फ उन्मुख भएको उनको भनाइ छ। ६ महिनाभित्र अफगानिस्तानमा ठूलो मानवीय दुर्घटना हुन सक्ने डब्लूएफपीको अनुमान छ।  

अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गर्नुअघि तत्कालिन राष्ट्रपति असरफ गनी नेतृत्वको सरकारले हिउँदको चुनौती सामना गर्न सक्ने अनुमान गरिएको थियो। 

किनकी, यसअघिका हिउँदमा अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा ठूलो सहयोग प्रदान गर्दै आएको थियो। तर, तालिवानको सत्तपलटसँगै दातृ राष्ट्रले अफगानिस्तानबाट आफ्नो हात झिकेका छन्। 

पश्चिमा मुलुकहरुले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग पनि रोक्का गरेका छन्। देशमा कठोर शारिया कानुन लागू गरिएको र छात्राहरुलाई विद्यालयबाट बन्चित गरिएको भन्दै पश्चिमेली मुलुकहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेको घोषणा गरेका हुन्। 

के पश्चिमा मुलुकहरु लामो समयसम्म आफ्नो अडानमा रहेर अफगानिस्तानका लाखौं मानिसहरुलाई भोकमरीमा बाँच्न बाध्य पार्लान ? अहिलेको यक्ष प्रश्न यही हो।
डब्लूएफपीले विश्वका सरकारहरुलाई अफगानिस्तानमा तत्काल मानवीय सहयोग प्रदान गर्न बारम्बार आह्वान गर्दै आएको छ।

‘विश्व नेता र खर्बपतिहरु ! एक पटक कल्पना गर्नुहोस त ! तपाईंका साना छोराछोरी भोकमरीका कारण मृत्युको मुखमा धकेलिँदैछन्।’ विश्व समुदायलाई अफगानिस्तानमा सहयोगको आह्वान गर्दै निर्देशक डेभिड भन्छन्। अहिले पृथ्वीमा ४०० खर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भए पनि लाखौं बालबालिकाको भोकमरीका कारण मृत्यु भइरहेको र यसले सबैलाई लाज लाग्नुपर्ने उनको भनाइ छ। 

‘भोकका कारण कुनै बच्चाको मृत्यु हुन्छ भने त्यसले हामीलाई लाज लाग्नुपर्छ। त्यो बच्चा कहाँको हो भन्ने अर्थ रहँदैन। ’,  उनी भन्छन्।

‘जाडो बढेसँगै मेरो मनमा त्रास बढेको छ। बालबालिकालाई दिने खानेकुरा केही छैन। चाँडै मैले सडकमा माग्दै हिँड्नु पर्छ ’, मध्येअफगानिस्तानको बामियान सहरकी फातिमा भन्छिन्। उनका ७ ओटा सन्तान छन्। उनका पतिको क्यान्सरका कारण केही महिनाअघि मृत्यु भएको थियो। 

भोमकरीका कारण केही अभिभावकले आफ्ना सन्तान बेचेका छन् भने केहीले आफ्ना छोरीलाई पाका मानिससँग विवाह गरिदिएर केही रकम लिएका छन्।एजेन्सी

Logo