चीनबाट सन् २०२१ मा २० लाख १५ हजार कार निर्यात

चीनबाट सन् २०२१ मा २० लाख १५ हजार कार निर्यात

केन्द्रबिन्दु
0
Shares

सन् २०२१ मा चीनबाट अन्य देशमा २० लाख १५ हजार युनिट कार निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा शतप्रतिशत बढी हो ।

चाइना एसोसिएसन अफ अटोमोटिभ म्यानुफ्याक्चर्स (सीएएएम) को रिपोर्ट अनुसार प्यासेन्जर भेइकल १६ लाख १४ हजार र कमर्सियल भेइकल ४ लाख २ हजार युनिट निर्यात भएका हुन्। यस्तै विभिन्न प्रकारका इलेक्ट्रिक सवारी साधन ३ लाख १० हजार युनिट निर्यात भए।

यो वर्ष सबैभन्दा धेरै एसएआईसी मोटरले ६ लाख ९७ हजार युनिट निर्यात गरेको छ।एसएआईसीको सहायक कम्पनी एमजी मोटर्सले निर्यातको १५ प्रतिशत अर्थात ३ लाख ६० हजार युनिट निर्यात गरेको हाे।

यस्तै दोस्रो नम्बरमा चेरी रहेको छ, यस कम्पनीले २ लाख ६९ हजार १५४ युनिट निर्यात गरेको छ । गत वर्ष भन्दा याे १३६.३ प्रतिशत बढी हो। चेरीले सन् २०२५ सम्म ५ लाख युनिट निर्यात गर्ने लक्ष्य लिएको छ। दक्षिण अफ्रिका, इन्डोनेसिया, रसिया, ब्राजिल र साउदी अरेबिया चेरीका मुख्य निर्यात बजार हुन् ।

तेस्रो नम्बरमा जीडब्लुएम अर्थात ग्रेटवाल मोटर्स रहेको छ । यस कम्पनीले यो वर्ष १ लाख ४० हजार युनिट भन्दा बढी सवारी साधन निर्यात गरेको छ। जीडब्लुएमले विश्वका १७० भन्दा बढी देशमा ९ लाख भन्दा बढी सवारी साधन निर्यात गरिसकेको छ। 

चौथो नम्बरमा जिली रहेको छ । जिलीले २०२१ मा १ लाख १५ हजार युनिट सवारी साधन निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशत बढी हो । जिलीले सन् २०२५ सम्म ६ लाख कार वार्षिक रुपमा निर्यात गर्ने लक्ष्य लिएको छ ।

चांगन अटोमोबाइलले १ लाख १० हजार युनिट सवारी साधन निर्यात गरेर पाँचौं स्थान लिएको छ । चांगनका सीएस ७५, इयाडो प्लस र सीएस३५ प्लस विश्वका विभिन्न देशमा निर्यात हुने गरेका छन् ।

गत वर्ष टेस्लाको सांघाई प्लान्टमा उत्पादित करिब १ लाख ६० हजार कार युरोप र अष्ट्रेलिया लगायतको बजारमा निर्यात गरिए। त्यसैगरी नियो, एक्सपेङ र लि अटो जस्ता नयाँ कार ब्रान्डले पनि करिब १ लाख युनिट कार निर्यात गरेका छन्, जसको प्रमुख गन्तब्य बजार युरोप हो।

अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने यी प्रमुख कम्पनीका उत्पादन नेपाली बजारमा पनि उपलब्ध छन्। एमजी, चेरी, जीडब्लुएम, चांगन आदि सबै ब्रान्ड नेपालमा उपलब्ध छन्।

Logo