उत्तर कोरियाले मिसाईल परीक्षणका लागि क्रिप्टोकरेन्सी चोरि गरेको राष्ट्रसंघको दाबी

उत्तर कोरियाले मिसाईल परीक्षणका लागि क्रिप्टोकरेन्सी चोरि गरेको राष्ट्रसंघको दाबी

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमा गरेको साईबर आक्रमणबाट लाखौं डलर चोरी गरेर मिसाईल परीक्षणका लागि प्रयोग गरेको संयुक्त राष्ट्रसंघले दाबी गरेको छ। 

उत्तर कोरियाका साईबर आक्रमणकारीले परमाणु परीक्षणका लागि क्रिप्टोकरेन्सीमा चोरी गरेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ। प्योङयाङको परमाणु र ब्यालेष्टिक मिसाईल परीक्षणका लागि  साईबर आक्रमण महत्वपूर्ण राजस्व श्रोत भएको प्रतिवेदनमा उल्लेख गरेको बीबीसीले बताएको छ।  

सन्  २०२० देखि २०२१ सम्ममा उत्तर कोरियाका साईबर आक्रमणकारीले ५० मिलियन डलरभन्दा बढि डिजिटिल सम्पति चोरि गरेको अनुसन्धानकर्ताहरुले प्रतिवेदनमा जनाएका छन्। उत्तर अमेरिका, युरोप र एसिया कम्तीमा तीनवटा क्रिप्टोकरेन्सी एक्सचेञ्जलाई लक्षित गरेर आक्रमण गरेको बताइएको छ। 

उत्तर कोरियाले गरेको साईबर आक्रमण बारेको प्रतिवेदन  संयुक्त राष्ट्रसंघको एक समितिलाई बुझाइएको थियो। एक अध्ययनका अनुसार अघिल्लो बर्ष ४०० मिलियन अमेरिकी डलर साईबर आक्रमणका माध्यमबाट  जम्मा गरेको हुन सक्नेसमेत बताएको छ । उत्तर कोरियाले प्रतिबन्धका बाबजुदसमेत ब्यालेष्टिक क्षेप्यास्त्रका संरचना विकास गरिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ। 

यसअघि, उत्तर कोरियाले गर्दै आएको परमाणु परीक्षण र ब्यालेष्टिक क्षेप्यायस्त्र परीक्षणलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले  प्रतिबन्ध लगाएको थियो । यसैबीच अमेरिकाले उत्तर कोरियाको स्थितिका बारेमा छलफल गर्न जापानी र दक्षिण कोरियाका अधिकारीहरुसँग बैठक बस्ने योजना बनाएको छ।

Logo