ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु, ८५ जना अझै बेपत्ता

ब्राजिलमा बाढी र पहिरोबाट १८५ को मृत्यु, ८५ जना अझै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १८५ पुगेको स्थानीय अधिकारीले जनाएका छन्। रियो दि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु ८५ जना अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन्। 

यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुवरी १५ मा रेकर्ड गरिएको थियो। त्यस दिनको बर्षा सन् १९३२ पछिको सबैभन्दा बढी थियो। वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ। त्यसपछि धेरै पटक भारी वर्षा भएको छ। हाल रेकर्ड गरिएको मृत्युको संख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो । सन् १९८८ मा विनाशकारी भारी वर्षाको कारण १७१ व्यक्तिको मृत्यु भएको थियो । 

यहाँ गएको आठ दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ। यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडक बन्द भएका छन् भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ। यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीले जनाएका छन्। यहाँका उद्धारकर्मीको भनाइअनुसार सबैभन्दा बढी क्षति पेट्रोपोलिस सहरमा भएको छ।

बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायःजसो विद्यालयमा आश्रय दिइएको बताइएको छ। विशेषज्ञको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ।

व्यवसायहरू मंगलबार पुनः खोल्न थालिएको छ। मानिसहरूले घरहरू, ऐतिहासिक भवनहरू र डाउनटाउन क्षेत्र सफा गर्न जारी राखेका बताइएको छ। पहिरो र बाढीबाट हालसम्म करिब ६२० टन माटो निस्किएको फोहोर संकलन गर्ने कम्पनीले जनाएको छ।एजेन्सी

Logo