रुस-युक्रेन युद्धपछि निम्तिएका संकट

रुस-युक्रेन युद्धपछि निम्तिएका संकट

केन्द्रबिन्दु
0
Shares

हाल युक्रेनमा जारी तनाव सबै देशका लागि टाउको दुखाइको विषय बनेको छ। रुसले युक्रेनमा हमला गरेसँगै युक्रेनका ४ करोड ४० लाख मानिस त प्रभावित भएका छन् नै, साथै युरोप र अमेरिकालाई पनि असर परेकाे छ।

रुसले युक्रेनविरुद्ध कदम चालेपछि विगतमा सोभियत संघमा आबद्ध पूर्वी युरोपियन मुलुकहरूको सुरक्षामा चुनौती थपिने अनुमान छ। यसले सन् १९८९ पछि विश्वव्यवस्थालाई पुन: परिभाषित गर्दै अमेरिकी दबदबालाई परिवर्तन गर्न सक्ने आँकलन भइरहेको छ। रुसको कदमले विश्वभर इन्धनको मूल्य बढाएकाे छ भने सुनकाे मूल्य पनि उच्च विन्दुमा पुगेकाे छ ।

यतिबेला युक्रेनमा आर्थिक संकट चुलिएकाे छ। २ हप्ताभन्दा बढी समयदेखि हरेकजसाे क्षेत्र बन्द रहेसँगै यहाँ आर्थिक संकट चुलिएकाे हाे। बैंक तथा वित्तिय संस्थाहरू बन्द छन्। सडकहरू सुनसानप्रायः बनेका छन् । मानिसहरू कसरी ज्यान जाेगाउने भन्नेमै केन्द्रित हुनु परेकाे अवस्था एकातिर छ भने बैंक र वित्तिय संस्थाहरू बन्द रहँदा आर्थिक काराेबारहरू हुन नसकिरहेकाे अवस्था छ। बाहिरी देशबाट पनि सहयाेग हुन सक्ने अवस्था छैन।

सन् २०२० मा अमेरिकाका राष्ट्रपति रहेका डोनाल्ड ट्रम्पमाथि महाभियोग लाग्नुमा युक्रेन पनि कारक थियो। जसले गर्दा महाभियोग लाग्नुअघि अमेरिकाले युक्रेनलाई दिँदै आएको ३ करोड ९१ लाख अमेरिकी डलरबराबरको सैन्य सहयोग रोक्का गरेका थिए। त्यति मात्रै होइन, युक्रेनी राष्ट्रपति भ्लोदिमर एल्नस्कीसँग सम्भावित साँठगाँठको आरोप लगाउँदै उनले जो बाइडेनविरुद्ध अनुसन्धान प्रक्रियासमेत अघि बढाएका थिए। यसकाे असर पनि अहिले युक्रेनकाे बैंक तथा वित्तिय क्षेत्रमा परेकाे छ।

युक्रेनीहरू यतिबेला आफ्नो मुलुकको स्वाधीनता र सार्वभौमिकता संकटमा परेको बताउँछन् । उनीहरूले देशकाे अर्थतन्त्र उठ्नै नसक्ने गरि थला परेकाे भन्दै यसका लागि विश्वले नै सहयाेग गर्नु पर्ने बताइरहेका छन् ।

युक्रेन कमजोर हुनुका कारण
युक्रनेलाई पश्चिमा मुलुकले सैन्यक्षेत्रमा आर्थिक र अन्य सहयोग गरे पनि ऊ नेटोको सदस्य होइन । युक्रेनको सैन्यशक्ति बढाउन पश्चिमाहरूले सयौँ मिलियन अमेरिकी डलर सहयोग गरे पनि रुसी आक्रमणको सशक्त प्रतिरक्षाका निम्ति युक्रेन अझै सक्षम छैन। युक्रेन रुसले मात्रै होइन, रुसनिकट मुलुकले पनि घेरिएको छ। रुसी सैनिक युक्रेनको पश्चिम इलाकामा पनि बाक्लै तैनाथ छन् । युक्रेनको सेना भने निकै पातलो भएकाले प्रतिरक्षाका निम्ति मुस्किल परेकाे छ।

रुससँग राम्रै व्यापारिक साझेदारी रहेकाले उसलाई आर्थिक संकट पर्न नदिन जर्मनीले पनि पश्चिमा मुलुकलाई खुलेर सहयोग नगरेकाे अवस्था छ। यता सिङ्गै युरोप इन्धनका निम्ति रुससँग निर्भर रहेकाले उनीहरू पनि रुसप्रति कडा हुन सकिरहेका छैनन् । जसकाे असर यतिबेला युक्रेनका बैंक तथा वित्तिय क्षेत्रमा परेकाे छ।

अन्न आपूर्तिका निम्ति रुस र युक्रेनले घेरिएको ब्ल्याक सी रुटको प्रयोग हुन्छ। रुस र युक्रेन धेरै गहुँ उत्पादन गर्ने मुलुक हुन्। यो क्षेत्रमा अहिले सैन्य कारबाही भएसँगै खाद्यान्न उत्पादन र वितरण प्रणालीमै असर पुगेकाे छ। जसकाे असर विश्वभरकै उपभोक्तामा परेकाे छ। युरोपमा प्रयोग हुने एकतिहाइ ग्यास रुसबाटै आपूर्ति हुन्छ भने युक्रेनले पनि युरोपमा ग्यास निर्यात गर्दै आएकाे छ। यी दुई मुलुकबीच युद्ध भएसँगै युरोप र समग्र विश्वले इन्धनको संकट झेल्नु पर्ने अवस्था पनि छ।विश्वभर इन्धनको मूल्य पनि महँगिएकाे छ।

रुसी अर्बपतिले ९ दिनमा गुमाए ९० अर्ब डलर
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिन अघि देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाएका थिए। बैठकमा कम्तिमा १३ अर्बपतिको उपस्थिती थियो ।

‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उनले बैठकमा भनेका थिए, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन।’ वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतिले गुमाउनु पर्ने सम्भावित नोक्सानबारे अप्रत्यक्षरुपमा संकेत गरेका थिए।

पुटिनको हमलाले युक्रेनमा विनाश मात्रै गरेको छैन, यसले विश्वभरका बजारहरूलाई अस्थिर बनाएको छ। यसले उनका आफ्नै सहयोगीको भाग्यमा समेत असर गरेको छ। राष्ट्रपति पुटिनले युक्रेनमा पूर्णमात्रामा आक्रमण गरेपछि देशको शेयर बजार र रुबलमा गिरावट आएसँगै रुसका अर्बपतिहरुको अर्बौं डलर गुमेको छ।

पछिल्लो ९ दिनमा रुसका ११६ अर्बपतिहरुले ९० अर्ब डलर गुमाएको फोब्सको अनुमान छ। त्यो मध्ये ३९ अर्ब डलर एकैदिन स्वाहा भएको थियो। रुसको मोएक्स सूचाकांक ३३% तल झरेपछि र रुबलको मूल्य डलरको तुलनामा निकै गिरावट आएपछि रुसी उद्योगपतिहरुले ठूलो मूल्य चुकाएका हुन्।

प्रतिबन्धहरूको जोखिम अर्बपति कुलीन वर्गको सानो सर्कलभन्दा बाहिर फैलिएको छ। अमेरिका, बेलायत र युरोपेली युनियनलक्षित व्यवसायहरूले रूसी अर्बपतिलाई अझै नोक्सान पुग्ने अनुमान गरिएको छ।

रुसी बैंकहरुलाई अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने
रुसी बैंकहरुलाई स्विफ्ट नामक अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने भएको छ। अमेरिका, क्यानडा र बेलायतसमेत आबद्ध पश्चिमा देशहरुको गठबन्धनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्ने निर्णय गरेका हुन्।

रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन्।

रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने समेत उनले बताएकी छन्। यस्तै रुसी केन्द्रीय बैंकलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज लगाइने भएको छ।

तीन दिनमा करिब २ लाखले देश छाडे
युक्रेनमाथि रूसले आक्रमण गरेपछि देश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ।
स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन्। यो सामान्य अंकको करिब १० गुणा बढी हो।

४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन्। जबकी डेढ लाख भन्दा धेरै मानिस पोल्याण्डमा शरणका लागि पुगेका छन्।युक्रेनको सीमा अन्य चार देश हंगरी, मोलडोवा, बेलारूस र रूससँग जोडिएको छ। हंगेरी र मोलडोवामा पनि हजारौं मानिसले शरण लिएको बीबीसीले जनाएको छ।

रुसी मुद्राको मूल्यमा ३० प्रतिशतले गिरावट
युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ। त्यस्तै, डलरको मुल्यमा एक प्रतिशतले घटेको छ तेलको मूल्यमा बृद्धि भएको छ।

देशका बैंक टाट पल्टने त्रास बढिरहेका बेला आइतबार रसियाको केन्द्रीय बैंकले शान्त हुन अनुरोध गरेको छ। बढ्दो तनावले ब्रेन्ट क्रुड तेलको मुल्य प्रति व्यारेल १०० डलरमाथि पुगेको छ।

युरोपेली युनियन, अमेरिका र उसको गठबन्धनले रुसी बैंकलाई मुख्य अन्तर्राष्ट्रिय भुक्तानी गेटवे स्विफ्टबाट रोक्का गरेको छ। उनीहरुले रुसको केन्द्रीय बैंकमा रहेको सम्पत्ति रोक्का गर्दै देशको विदेशी भण्डारमा पहुँच गर्न सक्ने क्षमतालाई सीमित गरेका छन्।

‘अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई थप अलग्याउने’ आफूहरुको उद्देश्य रहेको अमेरिकी गठबन्धनको संयुक्त विज्ञप्तिमा भनिएको छ। आफ्नो तेल तथा ग्यास निर्यातका लागि रुस स्विफ्ट प्रणालीमा निर्भर छ।

युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार
रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ। युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो। 

यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन। 
क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन्।

राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ। युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन्। उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए।एजेन्सीहरूकाे सहयाेगमा

Logo