भारतमा थप चार हजार ३६२ नयाँ सङ्क्रमित

भारतमा थप चार हजार ३६२ नयाँ सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ। 

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ५४ हजार ११८ पुगेको अधिकारीहरुले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको  ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ। भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा नौ हजार ६२० कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ९८ हजार ९५ पुगेको छ । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार १०२ जनाको मृत्यु भएको छ। ती मध्ये ६६ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।  

गत आइतबार एक दिनमा भारतमा ६ लाख १२ हजार ९२६ जनाको कोरोना परीक्षण गरिएको छ। भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ३४ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म एक अर्ब ७८ करोड ९० लाख भन्दा बढी डोज खोप लगाइएको छ।

Logo