भारतमा कोरोना भाइरसबाट थप चार हजार १९४ सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप चार हजार १९४ सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार १९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २९ हजार ८४ हजार २६१ जनालाई कोरोना सङ्क्रमण भइसकेको छ।  

गत २४ घण्टामा पाइएको सङ्क्रमितको यो संख्या ०.५२ प्रतिशत रहेको सो मन्त्रालयले जानकारी दिएको छ। योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४२ हजार २१९ पुगेको अधिकारीले जनाएका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.१० प्रतिशत रहेको समाचारमा जनाइएको छ।
  
स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा छ हजार २०८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख २६ हजार ३२८ पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमणमुक्त दर ९८.७० प्रतिशत रहेको समाचारमा जनाइएको छ। 

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २५५ जनाको मृत्यु भएको छ। एक दिनमा मृत्यु भएका यी व्यक्तिहरुमा २२७ जना केरला राज्यका मात्र रहेका पनि समाचारमा जनाइएको छ। यसैसँगै भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १५ हजार ७१४ को मृत्यु भइसकेको छ।  

भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ८८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ। भारतले सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ७९ करोड ७२ लाखभन्दा बढी डोज खोप लगाइएको छ। 

Logo