पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज मतदान

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदैछ। उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछ। 

३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो। गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए। त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए। 

पूर्व क्रिकेटरसमेत रहेका प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने बरु ‘अन्तिम बलसम्म’ संघर्ष गरिरहने बताएका थिए। उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपील गर्दै आएका छन्। 

अहिलेसम्म कुनै पनि पाकिस्तानी प्रधानमन्त्रीले पूर्ण कार्यकाल पूरा गरेका छैनन्। खान पदमुक्त भएमा पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफ अर्को प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ। 

आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि खानले शनिबार आफ्ना समर्थकहरुलाई सडकमा उत्रिन आह्वान गरेका थिए । खानमाथि देशमा आर्थिक संकट निम्त्याएको विपक्षीले आरोप लगाउँदै आएका छन् ।एजेन्सी

Logo