श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेद्वारा राजीनामा

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

आर्थिक संकटका कारण हिंसा बढ्दै जाँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन्। देशव्यापीरुपमा उनको विरोधमा प्रदर्शन भइरहेको अवस्थामा सोमबार उनको राजीनामा आएको हो ।

राजपाक्षेको राजीनामाले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद् गठनका लागि मार्ग प्रशस्त हुने सम्भावना देखिएको अन्तर्राष्ट्रिय मिडियाहरूले बताएका छन्। यसअघि राष्ट्रपति गोटबाया राजपाक्षेले शुक्रबार एक विशेष बैठकमा प्रधानमन्त्रीलाई देशको राजनीतिक संकट समाधानका लागि राजीनामा दिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति राजपाक्षेले संयुक्त मन्त्रिपरिषद्‍ गठनका लागि सर्वदलीय बैठक आह्वान गर्नसक्ने अपेक्षा गरिएको छ। तर यसअघि विपक्षी दल समगी जन बालवेगयाका नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए।

प्रधानमन्त्री निवास नजिकै टेम्पल ट्रीसको अगाडि प्रधानमन्त्रीका समर्थकहरूले सोमबार बिहान भने उनलाई राजीनामा नगर्न आग्रह गर्दै प्रदर्शनसमेत गरेका थिए। उक्त प्रदर्शनमा विरोधीहरूसँग झडप हुँदा उत्पन्न तनाव कम गर्न प्रहरीले कर्फ्युसमेत घोषणा गरेको थियो।

Logo