१५ देशमा फैलियो मंकीपक्स संक्रमण, के हो मंकीपक्स ?

१५ देशमा फैलियो मंकीपक्स संक्रमण, के हो मंकीपक्स ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । 

अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै मानिसबीच सर्दैन र रोग पनि हल्का हुन्छ । 

मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो भाइरस देखिएको छ । युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै संदिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

मंकीपक्स’ मध्ये तथा पश्चिम अफ्रिकामा सामान्य भए पनि अफ्रिकाबाहिर भने खासै देखिएको थिएन । डब्लूएचओले अन्य धेरैमा संक्रमण भएको हुन सक्ने जनाएको छ । यो भाइरसका मध्य अफ्रिकी र पश्चिम अफ्रिकी गरी दुई भेरिएन्ट हुन्छन् ।

प्रकोपले वैज्ञानिकहरूलाई आश्चर्यचकित बनाएको छ । वैज्ञानिकहरुका अनुसार बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । संक्रमण भएको खण्डमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ ।

संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिन्छ । तर, मानिसमा भने यसको जोखिम कम भएको बताइन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्तिहरू केही हप्ताभित्र निको हुन्छन् ।

‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो ।

खासगरी जंगली जनावरमा हुने मंकीपक्स भाइरस बाँदरभन्दा बढी मुसामा हुने वैज्ञानिकहरू बताउँछन् । डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ । 

त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने जनाइएको छ । त्यस्तै यौन क्रियाकलाप गर्दा पनि यो सर्न सक्ने चएपनि यो भाइरसलाई यौन रोगका रूपमा नहेरिएको जनाइएको छ ।

तर  पछिल्लो समय देखिएका अधिकांश संक्रमण यौन सम्पर्कको समयमा सरेको ठानिएको छ । जसका कारण धेरैजसो संक्रमितका यौनांगनजिक डाबरहरू देखिएका छन् । संक्रमण नियन्त्रण गरेर यो भाइरसबाट बच्न सकिन्छ । यसको कुनै खोप नभए पनि बिफरको खोप ८५ प्रतिशत प्रभावकारी हुने डब्लूएचओले जनाएको छ ।

एजेन्सी

Logo