अमेरिकाको एक विद्यालयमा गोली चल्दा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

अमेरिकाको एक विद्यालयमा गोली चल्दा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको टेक्सस राज्यमा रहेको एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको छ । गोली प्रहारबाट कम्तीमा २० जना बालबालिका र ६ जना वयस्क गरी २६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । 

गोली प्रहार भएको विद्यालयमा सातदेखि दश वर्ष उमेर समूहका बालबालिका अध्ययन गर्छन् । रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विद्यालयमा झन्डै पाँच सय जना बालबालिका रहेका र ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने राज्य सरकारले जनाएको छ ।

विद्यालयमा जथाभाबी गोली चलाउनुको कारण खुलेको छैन । विद्यालयमा गोली चलेको थाहा पाएपछि नजिकै रहेका एक सीमा रक्षकले विद्यालयमा गएर आक्रमणकारीलाई मारिदिएका स्थानीय प्रहरीले जनाएको छ । 

राष्ट्रपति जो बाइडेनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिनुभएको छ । ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा बाइडेनले बन्दुक नियन्त्रणका लागि आह्वान गर्दै धेरै मानिस प्रभावित हुने गरी हुने गोली प्रहारका घटनाका कारण आफू दिक्क भएको बताए ।  

अमेरिकामा यो वर्ष मात्रै समूहमा गोली प्रहार भएका २६ वटा घटना भएका छन् । दश दिनअघि मात्रै न्युयोर्क राज्यमा भएको आक्रमणका १० जनाको ज्यान गएको थियो । 
 

Logo