आक्रमणमा परेका लेखक रुस्दी बोल्नसक्ने भए, भेन्टिलेटरबाट बाहिर निकालेर उपचार हुँदै

आक्रमणमा परेका लेखक रुस्दी बोल्नसक्ने भए, भेन्टिलेटरबाट बाहिर निकालेर उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

आक्रमणपछि उपचाररत प्रसिद्ध लेखक सलमान रुस्दी बोल्न सक्ने भएको जनाइएको छ । 

रुस्दीलाई अहिले भेन्टिलेटरबाट बाहिर निकालेर उपचार जारी रहेको र उनी बोल्न सक्ने भएको बताइएको छ । शनिबार न्युयोर्कस्थित एक कार्यक्रममा बोल्नका लागि मञ्चमा उभिरहँदा रुस्दीमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणपछि उनलाई अस्पतालमा राखेर उपचार गरिएको छ । 

रुस्दीका एजेन्ट एन्ड्र्यु वाइलले अमेरिकी मिडियासँग रुस्दीको उपचारको क्रममा उनले आँखा गुमाउन सक्ने प्रतिक्रिया दिएका थिए । साथै उनको कलेजोमा पनि क्षति पुगेको वाइलले बताएका थिए ।

७५ वर्षीय रुस्दीले यसअघि नै आफ्नो लोकप्रिय कृति ुद सटानिक भर्सेसुका कारण ज्यान मार्ने धम्कीको सामना गरिसकेका छन् । मुस्लिम समूहहरूबाट उनले इश्वरको अनादर गरेको भन्दै ज्यान मार्ने धम्की आएको हो ।

न्युयोर्कस्थित शनिबारको कार्यक्रममा रुस्दीमाथि आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अहिले हिरासतमा राखिएको छ । यस घटनामा २४ वर्षीय हादी माटर नामका व्यक्तिमाथि ज्यान मार्ने प्रयास गरेको आरोप लागेको छ । अमेरिकी मिडियाका अनुसार ती व्यक्तिले स्टेजमा उक्लिएर रुस्दीको अनुहार, घाँटी र पेटमा कम्तीमा १० पटक चक्कु प्रहार गरेका थिए ।

यद्यपि रुस्दीको पछिल्लो स्वास्थ्य अवस्था चिकित्सकले सार्वजनिक गरेका छैनन् । तर कतिपय लेखक र उनका साथीहरूले रुस्दी बोल्न सक्ने भएको भन्दै स्वास्थ्यलाभको कामना गरेका छन् । यस्तै रुस्दी वक्ता रहेको कार्यक्रम आयोजक संस्थाका अध्यक्ष माइकल हिलले पनि रुस्दीलाई अहिले भेन्टिलेटरबाट बाहिर निकालेर उपचार भइरहेको भन्दै ट्विट गरेका छन् । र उनले रुस्दी बोल्न सक्ने भएको जानकारी दिएका छन् ।

रुस्दीमाथि आक्रमण भएपछि त्यहाँको सुरक्षा व्यवस्थालाई लिएर उनी वक्ता रहेको कार्यक्रम आयोजकमाथि प्रश्न उठाइएको छ । १९८८ मा 'द सटानिक भर्सेस' लेखेपछि धम्कीका कारण रुस्दी १० वर्षसम्म भूमिगत बनेका थिए ।

Logo