0 Shares

ब्लग

संस्मरणः गाईगोठमा हाम्रो स्कुल!

गोबर हुन्थ्यो। सोहोरेर मल खाडीमा फ्याँक्थ्यौं। मुत भएको ठाउँमा माटो राख्थ्यौं। अनि, टुनी स्योङ (टुनी खोला) गएर असुरो र धुसुरेको स्याउला ल्याएर बढार्ने गर्थ्याैं। बल्ल पढ्न भुइँमा बस्थ्यौं।

यो आखे (बाजे) काइँलाको गोठको प्रसङ्ग हो। २०५४ मा यही गोठ हाम्रो गाउँको स्कुल भयो। गाउँ चाहिँ पाँचथरको दक्षिण–पश्चिम क्षेत्रको रातमाटे हो। सदरमुकाम फिदिमदेखि दूरमा पर्छ। 

र, यो गोठ स्कुल हुने समय बिहान साढे ९ देखि ३ बजेसम्म हो। अर्थात् त्यस समयमा हामी विद्यार्थीहरू गोठमा हुन्थ्यौं। बाँकी समय गाई गोरु र बाख्रा हुन्थे। शिक्षक चाहिँ डम्बरबहादुर दाहाल। उहाँको घर हाम्रो गाउँदेखि पारी ढुकुरे।

स्कुल पुग्न हाम्रो घरदेखि लाग्ने समय त्यस्तै ३/४ मिनेट हो। याद भएअनुसार उक्त गोठमा पढ्ने कक्षा १ को पहिलो ब्याजी म सहित बमबहादुर तामाङ, पदमबहादुर तामाङ, (अन्तरे ज्योज्यो), उमेश तामाङ, फूलमाया तामाङ, वीरेन्द्र तामाङ, राजेन्द्र तामाङ, सोमप्रसाद तामाङ, देवीलाल बुढाथोकीलगायत थियौं।

गाउँथ्यौं राष्ट्रिय गीत, –श्रीमान प्रचण्ड प्रतापी भूपती...। त्यसबेलै जस्तो लाग्छ, अर्को राष्ट्रिय गीत माधवप्रसाद घिमिरेको ‘गाउँछ गीत नेपाली, ज्योतीको पङ्ख उचाली’...पनि गाउँथ्यौं।

म गणितमा ठिक्कको थिएँ। साह्रै तगडा होइन। बरु सय अङ्क भन्न राजेन्द्र अलिक तगडा थिए। ८० सम्म अङ्क पढ्न उनी सबैभन्दा तगडा देखिए। तर, उमेरले उनी भाइ। घर नजिकै थियो। उनले जान्दा हामीले पिटाइ खायौं। यति सानोले जान्दा, तिमीहरूले चाहिँ किन नजानेको? यसरी जङ्गिदै डुम्..डुम् डाढमा सरको हात बजारिएको याद छ।

फेरि, हामीलाई समस्या चाहिँ भाषाको हो। सरले बोल्ने खस–नेपाली भाषालाई हामी त्यसबेला ‘पर्वते ताम्’ अर्थात् पर्वते भाषा भन्थ्यौं। मलाई लाग्छ, त्यसबेलासम्म हाम्रो गाउँमा पर्वते भाषा बोल्न नजान्नेहरू थुप्रै थिए। उनीहरूलाई तामाङ भाषा मात्रै आउने। हामी विद्यार्थीहरू पनि उस्तै थियौं।

त्यही भएर बोलिचालीमा पूरै तामाङ भाषा थियो। गाउँमा बुढाथोकीको दुई घर। बाँकी सबै तामाङ। बुढाथोकी भाञ्जा र भाञ्जीहरू पूरै तामाङ भाषा बोल्ने। रुन उनीहरूलाई पनि तामाङ भाषामा आउने। (जस्तोः ङादा रोप्ची...) 

सरले बोल्ने पर्वते भाषा बुझाइमा समस्या हुँदा सरको निर्देशन न बुझ्न सक्थ्यौं, न सिकाएको कुरा।

बढो समस्या हुने। अलिकपछि सरले पनि हामीसँगको घुलमिलपछि तामाङ भाषा अलिअलि सिक्नु भएछ। र, सिकाउने क्रममा तामाङ भाषा मिसाउन थाल्नुभयो। गज्जब भयो। सरले तामाङ भाषा एक/दुईवटा मिसाउँदा मजा लाग्थ्यो। उहाँसँगको सम्बन्ध निकट लाग्थ्यो। 

फेरि, हाम्रो घरमा गएर कहिलेकाहीं उसिनेको फर्सी खानुहुन्थ्यो। त्यसले गर्दा पनि सरलाई नजिक ठानिएको हुनुपर्छ ।

यस्तैमा अन्ततः हामी कक्षा १ उत्तीण भयौं। त्यसपछि चाहिँ कक्षा–२ । आखे काइँला ठुस्किनु भयो क्यारे त्यसबेला। उहाँले हामीलाई कक्षा–२ त्यो गोठमा पढ्न दिनु भएन। त्यसपछि त्यो गोठ छाडेर हामी करिब १० मिनेट पर आखे च्याङ्बा (बाजे कान्छा) गोठ पुग्यौं। ठीक तल्लो आसेङ (मामा) को घर।

अन्ततः हामी कक्षा १ उत्तीण भयौं। त्यसपछि चाहिँ कक्षा–२ । आखे काइँला ठुस्किनु भयो क्यारे त्यसबेला। उहाँले हामीलाई कक्षा–२ त्यो गोठमा पढ्न दिनु भएन। त्यसपछि त्यो गोठ छाडेर हामी करिब १० मिनेट पर आखे च्याङ्बा (बाजे कान्छा) गोठ पुग्यौं। ठीक तल्लो आसेङ (मामा) को घर।

पढाइ हुने गोठको भुइँमा चिप्लेटी ढुङ्गाहरू बिच्छाइएका थिए। त्यसअघि त्यहाँ भैंसी बाँधेको देख्थ्यौं। केही ठाउँमा खाल्डाखुल्डी थिए। तर, हाम्रो स्कुल भएपछि बाँसको भाटाले वरिपरि बारियो। भुइँमा कोही टुक्रुक्क बस्थे, कोही थचक्क बस्थे।

नजिकै दारिमको बोट थियो। टिप्दै खान्थ्यौं। अलिक परतिर रिठाको बोट। १ बजे रिठा ल्याएर पनि गुच्चा खेल्थ्यौं। गोठदेखि ठीक तल सानो खेल्ने ठाउँ थियो। दिउँसो २/३ बजेदेखि हावा चल्थ्यो। चिसो हुन्थ्यो।

त्यसबेला पछिल्लो ब्याज अर्थात् कक्षा–१ मा देवीलाल बुढाथोकी, उमेश तामाङ, जीवन तामाङ (ब्लोन), जीवन तामाङ (थिङ), रमेश तामाङलगायत आए। नाँथे एक कक्षामाथि हुँदा पनि मनमा चाहिँ अलिकति दम्भ थियो। साथीहरू भन्दा माथि छु भन्ने लाग्थ्यो।

तर, कक्षामा पहिलो बमबहादुर तामाङ (काकाको छोरा) र दोस्रो फूलमति तामाङ (मामाकी छोरी)। म त तेस्रो।

यस्तैमा, यही गोठबाट कक्षा दुई पनि पास भयौं। कक्षा–३ मा पुग्यौं। फेरि, त्यो गोठ छाड्नुपर्यो। छाड्दा माया लाग्दो रहेछ। जुन गोठमा वर्षभरि पढेर बिताएका थियौं। अहिले यस्तो लाग्छ, ज्ञान आर्जनको थलोसँग भावनात्मक सम्बन्ध पनि हुँदोरहेछ। कृतिम संरचना नै किन नहोस्।

यद्यपि, छाड्यौं। छाड्नु पर्नाको कारण चाहिँ नयाँ स्कुल बनेकोले रहेछ। नयाँ स्कुलको नाम जनता प्राथमिक विद्यालय। साइन बोर्डमा स्थापना त २०४९ पो रहेछ। स्कुल बनेको त फेरि २०५६ मा। बाफ्रे ! ७ वर्षसम्म कहाँ थियो स्कुल? पछि थाहा पाउँदा त नयाँ स्कुल छेउमा रहेको एउटा भत्किन लागेको पुरानो घर नै पो स्कुल रहेछ। 

ठूली र माइली नानाले त्यहीं प्रौढ शिक्षा रातको समयमा पढ्नु भएको रे। प्रौढ शिक्षा पढेरै ठूली नाना अहिले फरर. पढ्न र लेख्न जान्नुहुन्छ। माइली नानालाई अलिक मुस्किल पर्छ।

तर, पछि त्यो घर लडाइयो। घर उदयबहादुर आसेङको रहेछ। त्यहाँ नपढाइनुको कारण घर भत्किन लागेकोले रहेछ। घर लडाएको ठाउँमा फर्सी ठूल्ठूलो फलेको देख्थ्यौं। सानो खालको टमाटर बेस्सरी फलेको देख्थ्यौं।

र, स्कुल क्षेत्रमा बर पीपल थियो (अहिले छैन)। धारा र आहाल थियो। अलिकमाथि ‘दुर्सागङ’ (चिहानडाँडा) मा लास लाँदा त्यहीं मलामीलाई खाजा दिने गरिन्थ्यो। त्यसबेला शिक्षक सुरेन्द्र तामाङ थपिनुभयो। डम्बरबहादुर सर त हुनुहुन्थ्यो नै। उहाँ आसेङको ‘पाराङ’ (माइला) हो।

पढाउने शैली ठीक थियो। तर, स्थानमान तालिका नजान्दा उहाँले कान निक्कै बेर तातो हुने गरि तान्नु भएको सम्झना आलै छ। नजान्ने बित्तिकै यातना पाउनु सामान्य थियो। घुँडा टेकाइ त छँदै थियो। अहिले पो बालमैत्री सिकाइ छ। जहाँ कुटिन्नँ।

कुटाइ खाइने अर्को पनि मेलो थियो। त्यो हो कपडा। नयाँ कपडा पाइने भनेकै दसैंमा एक जोडी हो। त्यही कपडा स्कुल जाँदादेखि बजार, बिहे भोजदेखि घरमा हुँदा पनि लाउनुपर्ने। फोहोर त हुने नै भयो। फोहोर कपडा लगाएको निहुँमा पनि कुटाइ खाइन्थ्यो। यसरी कुटाइ खाँदै दुईवटा गोठदेखि कक्षा १ र २ पास गरेर कक्षा ३ चाहिँ स्कुलमै पढेका थियौं।

प्रकाशित: १९ असार २०७८ १३:४३ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी