राष्ट्रपति पौडेल जाँदै नगएको भ्रमणमा ५५ लाख स्वाहा, कोशीको सत्ता फेरि हिक्मतकै हातमा[भिडियोसहित]

राष्ट्रपति पौडेल जाँदै नगएको भ्रमणमा ५५ लाख स्वाहा, कोशीको सत्ता फेरि हिक्मतकै हातमा[भिडियोसहित]

केन्द्रबिन्दु
70
Shares

प्रधानमन्त्री प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ। गत ४ माघमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री प्रचण्ड नेतृत्व प्रतिनिधिमण्डलको भ्रमण खर्च १ करोड २६ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको अर्थ मन्त्रालयले जानकारी दिएको हो। अर्थले सो रकम परराष्ट्र मन्त्रालयका नाममा निकासा गरिसकेको छ। साथै सरकारले राष्ट्रपति रामचन्द्र पौडेल जाँदै नगएको युरोप भ्रमणको खर्च ५५ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ।

कोशी प्रदेश मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङ्गले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बिहीबार दिउँसो मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त गर्नुअघि एमालेका ३९ र माओवादीका १३ जना गरी ५२ जना सांसदको सनाखत गराइएको थियो। प्रदेश सभाको दोस्रो कार्यकालको १६ महिनाका बीचमा कार्की तेस्रो पटक कोशीको मुख्यमन्त्री बनेका हुन्। उनले प्रदेश सरकारलाई स्थिर बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

जसपा नेपालले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेको र पार्टी कब्जा गरेको आरोप
प्रस्तावित जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोक कुमार राईले जनता समाजवादी पार्टी नेपालले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेको र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नु परेको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उपेन्द्र यादव अमेरिका जानुअघि नै सबै पार्टीका नेताहरुसँग छलफल नगरी परिपत्र गरेर विदेश उडेको र वातावरण नै त्यस्तै सृजना गरिदिएकाले उनि अमेरिका गएको बेला पार्टी फुटाइएको बताएका हुन्।

कोशीका निवर्तमान मुख्यमन्त्री केदार सर्वोच्चमा
कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्। रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन्। सो रिटको शुक्रबार पेसी तोकिएको छ। संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत असोज २७ मा मुख्यमन्त्री नियुक्त केदार कार्कीले आफूलाई समर्थन गर्ने दलहरूले समर्थन फिर्ता लिएको ३० दिन पूरा भएको, त्यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत नलिएको तथा वैशाख ७ मा प्रदेश सभाबाट पारित मुख्यमन्त्री विरूद्धको संकल्प प्रस्तावले उनी अल्पमतमा परेको ठहर गर्दै प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गर्दै हिक्मत कार्की मुख्यमन्त्री बनेका छन्।

बिर्तामोडको दुई बैंकमा तोडफोड
दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन्। ऋणीलाई टर्चर दिएको भन्दै उनीहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका हुन्। बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा प्रहरीले चारजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

एमसीसीको अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता
एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। यो एमसीसी परियोजनाअन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माण हुने ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माणको लागि लिङ्कसन इण्डिया प्रालिसँग एमसीए नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो। सम्झौताअनुसार सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ।

नेपालले प्राप्त गर्यो १ करोड ८८ लाख अमेरिकी डलर
स्वास्थ्य क्षेत्र सुधारका लागि ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत नेपालले १ करोड ८८ लाख अमेरिकी डलर अर्थात् करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ प्राप्त गरेको छ। नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नतामा बिहीवार शुभारम्भ गरिएको यो परियोजना तीन वर्ष चल्ने छ। अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो।

क्यानका सचिव पारस खड्काले आपत्ति
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेको विषयमा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले भइरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै नेपालको कानुनले कसैलाई पनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन भन्दै नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको स्पष्ट गरेका छन्।

बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जनाविरुद्ध पक्राउ पुर्जी
नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको हो। नेपाल बाल सङगठनलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले बिसं २०४९ सालदेखि बिसं २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको तथा आगामी २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप लागेको छ।

अष्ट्रेलियामा विदेशी विद्यार्थीहरूलाई भिसा पाउन जम्मा गर्नुपर्ने रकम बढ्यो
शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलिया सरकारले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएर २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्याएको छ। विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अस्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको हो। योसँगै अष्ट्रेलियाले कलेजहरूलाई पनि नक्कली विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ। विभिन्न बहानामा अष्ट्रेलिया प्रवेश गरी सेटिङ मिलाएर विद्यार्थी भिसामा रूपान्तरण गर्ने प्रवृत्ति बढेपछि कलेजहरूले त्यस्तो गरिएको पुष्टि भए कारबाही गर्ने चेतावनी दिएको छ।

खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको गुनासो
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको गुनासो गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि बजेट अभाव रहेको बताएका हुन्। उनले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौँको सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माणका लागि कार्यक्रम रहे पनि पर्याप्त बजेट नहुँदा गति सुस्त भएको स्वीकार्दै खेलसम्बन्धी कानुन र राष्ट्रिय युवा नीति संशोधनका लागि गृहकार्य भइरहेको जानकारी दिए।

Skip This
Logo