छैटौं अन्नपूर्ण म्याराथनमा जुम्लाका धावकहरूको वर्चस्व

छैटौं अन्नपूर्ण म्याराथनमा जुम्लाका धावकहरूको वर्चस्व

केन्द्रबिन्दु
3
Shares

पोखरा । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म आयोजित छैटौं अन्नपूर्ण म्याराथनमा जुम्लाका धावकहरूले वर्चस्व कायम गरेका छन् । पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु रावतले उपाधि जितेका हुन् ।

७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित प्रतियोगितामा दलबहादुरले निर्धारित दूरी ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे । अघिल्लो संस्करणमा उनी तेस्रो भएका थिए । नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए । गत वर्षका विजेता सुनुवारले आफ्नो समय १४ मिनेटले सुधार गरे पनि उपाधि जोगाउन सकेनन् ।

घान्द्रुकका स्थानीय धावक सचिन गुरुङ ४ घण्टा ४९ मिनेट १२ सेकेन्डसहित तेस्रो भए । उनले ६ वर्षदेखिको निरन्तर अभ्यासपछि पहिलोपटक शीर्ष तीनभित्र पर्न सफल भएको बताए ।

महिलातर्फ पनि जुम्लाकै धावकहरूको दबदबा रह्यो । मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन् । राज्यलक्ष्मी रावल ६ घण्टा ५६ मिनेट २५ सेकेन्डसहित दोस्रो र कल्पना बुढा ७ घण्टा ५६ सेकेन्डमा दौड सकाउँदै तेस्रो भइन् । तीनै जना जुम्लाका खेलाडी हुन् ।

धावकहरूले आधार शिविरबाट माछापुच्छ्रे बेस क्याम्प, देउराली, हिमालय, दोभान, बेम्बो, सिनुवा, छोम्रोङ, चुइले र किम्रोङ खोला हुँदै घान्द्रुक पुगेर दौड पूरा गरेका थिए ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकद्वारा आयोजित प्रतियोगितामा विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ प्राप्त गरे । गाउँपालिका अध्यक्ष केसी, पूर्वअध्यक्ष युवराज कुँवर र समितिका अध्यक्ष ललित गुरुङले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।

अन्नपूर्ण आरोहण दिवस (जुन ३) को अवसरमा आयोजना गरिएको म्याराथनको उद्देश्य अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धन तथा खेल पर्यटनको विस्तार रहेको समितिका अध्यक्ष गुरुङले बताए । यस वर्षको प्रतियोगितामा ६ विदेशीसहित ५१ धावक सहभागी थिए ।

Skip This
Skip This
Logo