एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । बिहीबार नेपालले समूह ‘डी’अन्तर्गतको खेलमा भुटानलाई ५१ रनले हराएको हो ।

मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा नेपालले प्रस्तुत गरेको ११४ रनको लक्ष्य पछ्याएको भुटान २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रनमा समेटियो ।
भुटानका डिचेन वाङ्गमोले अविजित ३९ र चाडो ओमले रन बनाए । अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी रुबिना क्षेत्रीले सर्वाधिक तीन विकेट लिइन् । रिया शर्माले दुई, कविता कुँवर र मनीषा उपाध्यायका नाममा एक/एक विकेट रह्यो । त्यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो ।

नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान गरिन् । रुबिना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे । भुटानकी छिरिङ जाङ्गमो र सोनामले तीन/तीन विकेट लिए । अन्जु गुरुङले दुई, रित्शी छोडेन र रिया प्रधानले एक/एक विकेट लिए ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित भुटान अंकविहीन छ । पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो । भुटान हङकङसँग १४ रनले पराजित भएको थियो ।

Logo