नेपालीहरुलाई युरोपमा प्रतिबन्ध हुनसक्ने, रोहितले पासा पल्टाएपछि क्यानडामाथि रोमाञ्चक जित [भिडियाेसहित]

नेपालीहरुलाई युरोपमा प्रतिबन्ध हुनसक्ने, रोहितले पासा पल्टाएपछि क्यानडामाथि रोमाञ्चक जित [भिडियाेसहित]

केन्द्रबिन्दु
168
Shares

नेपालीहरूको हर्कतका कारण युरोपेली मुलुक जानुपर्ने नेपाली नागरिकले भिसा नपाउने अवस्था आउन सक्ने चेतावनी

परराष्ट्र मन्त्रालयले युरोप पुगेका नेपालीहरूको हर्कतका कारण वास्तविक काम परेर युरोपेली मुलुक जानुपर्ने नेपाली नागरिकले भिसा नपाउने अवस्था आउन सक्ने चेतावनी दिएको छ।

श्रम मन्त्रालयलाई पठाएको लिखित सुझावमा परराष्ट्रले युरोपमा श्रमिकको रूपमा र पर्यटक भिसामा गएर उतै बसोबास गर्न पासपोर्ट च्यात्ने प्रवृत्तिले भोलि नेपालीहरूलाई नै विकराल समस्यामा पार्ने उल्लेख छ। यस्ता हर्कतले राज्यको संलग्नतामा नै संस्थागतरुपमा पश्चिम युरोपमा आप्रवासी पठाउने देशका रूपमा नेपाल बदनाम हुनसक्ने चिन्ता समेत परराष्ट्रले व्यक्त गरेको छ।

टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हडपेको आरोपमा नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध मुद्दा दायर

कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियार लामो अनुसन्धानपछि बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, सदस्य एवम् कर्मचारीको संलग्नतामा सरकारी जग्गा आफन्त लगायतको नाममा लगेको उनीहरूमाथि आरोप छ।

सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लियाे

सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ। ६० किलो सुन तस्करी प्रकरण मुछिएर आरोपित बनेका भण्डारीसँग यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सोधपुछ गरेको थियो ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि उनी छानबिनको दायरामा परेका हुन्।

सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्रीहरुलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने

सुरक्षण मुद्रण गर्नुपर्ने कुनैपनि सामग्रीहरुलाई मुद्रण गर्नका लागि निजी क्षेत्रलाई नदिइने भएको छ ।बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा सांसदहरुको संशोधनउपर छलफल गर्दै सुरक्षण मुद्रण गर्नुपर्ने सामग्रीहरु मुद्रण गर्न निजी क्षेत्रलाई नदिने निर्णय गरेको हो। विधेयकमा सुरक्षण मुद्रण गर्नुपर्ने राष्ट्रिय परिचय पत्र, नागरिकता, बैंक नोट र राहदानी बाहेकका सामग्रीहरुलाई अन्य व्यक्ति वा निकायहरुमा पनि दिन सकिने व्यवस्था आएपछि सांसदहरुले संशोधन हाल्दै सरकारी निकायभन्दा बाहिर मुद्रण गर्न दिनु नहुने बताएका थिए।

केपी शर्मा ओलीले माधव नेपालले आफैंले बनाएको विशाल घरमा आगो लगाएर गठबन्धनलाई घर भन्दै हिँडेको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफैंले बनाएको विशाल घरमा आगो लगाएर गठबन्धनलाई घर भन्दै हिँडेको टिप्पणी गरेका छन्। एमाले रौतहटको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने ‘एमालेले पार्टीको प्रमुख १५ वर्ष बनायौं। हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौं। तर, गठबन्धन भत्कन दिन्नँ, घरमा आगो लगाउँदिनँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन्। तर, तीनले त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ।’ उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका थिए।

मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिप्रति कर्मचारीले असन्तुष्टि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको अभिव्यक्तिप्रति कर्मचारीले असन्तुष्टि जनाएका छन्। मुख्यमन्त्री कार्कीले केही दिनअघि कक्षाकोठामा पहिलो बेन्चमा बस्ने (फर्स्ट बेन्चर) साथी खरदार भएको र अन्तिम बेन्चमा बस्ने (लास्ट बेन्चर) आफू भने मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए ।मुख्यमन्त्रीको सोही अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको भन्दै नेपाल निजामती कर्मचारीको संगठनले असन्तुष्टि जनाएको हो ।

काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने

काठमाडौँ महानगरपालिकाल सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । जसका लागि महानगरले एक हजार ९ सय ५० सेट फोहोर संकलन बिन राख्न लागेको छ ।एउटा सेटमा दुईवटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो।

सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनायाे

सामाजिक सञ्जालले मानिसहरूलाई मनोरञ्जनसँगै सञ्चारमा सहज बनाइदिएको छ। सञ्जालको प्रयोग र प्रभाव जसरी बढेको छ, त्यसैगरी सञ्जालकै प्रयोगबाट हुने अपराधको ग्राफ पनि उकालो लागिरहेको छ।नेपाल प्रहरीका अनुसार यस्तो अपराधबाट पीडितहरूबाट एक दिनमा औसतमा ६५ वटाभन्दा धेरै उजुरीहरु परिरहेका छन्। गत साउनदेखि माघ २३ सम्मको तथ्याङक हेर्दा साइबर अपराध सम्बन्धी १३ हजार ३३० वटा उजुरी परेकोछ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीले गरे सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय भवन उद्घाटन समारोह बहिष्कार

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीले आफ्नै मन्त्रालय परिसरमा आयोजना गरिएको सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय भवन उद्घाटन समारोह बहिष्कार गरेका छन्।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकै बजेटमा मन्त्रालय परिसरमै भवन निर्माण गरिएको हो। तर, निर्माण सम्पन्न भएर उद्घाटन गर्दा आफूलाई खबर नभएपछि उनी कार्यक्रममा सहभागी भएनन्।

पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ

पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।बुधबार साँझ पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत धम्क्याएको आरोप छ।

अन्तिम दिन बिहीबार हाइड्रोपावर समूहले सेयर बजार बढायाे

साता कारोबारको अन्तिम दिन बिहीबार हाइड्रोपावर समूहले सेयर बजार बढाएको छ। सबैभन्दा धेरै पूँजीकृत समूह बैंकिङ घट्दा दोस्रो ठूलो समूह हाइड्रोपावर १.४४ प्रतिशत बढेपछि समग्र नेप्से परिसूचक ५.७४ अंकले बढेको हो। बिहीबार समूहगत रुपमा हाइड्रोपावरको वृद्धिदर सबैभन्दा धेरै हो ।आजको वृद्धिसँगै नेप्से २०९६ अंकमा कायम भएको छ। त्यस्तै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन २ अर्ब ८४ करोडको कारोबार भएकोमा बिहीबार ३ अर्ब १२ करोडको कारोबार भयो।

बेञ्जामिन नेतान्याहुले युद्धविरामसम्बन्धी हमासको प्रस्ताव गरे अस्वीकार

इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले युद्धविरामसम्बन्धी हमासको प्रस्ताव अस्वीकार गरेका छन्। केही महिनाभित्रै गाजामा पूरा जित सम्भव भएको भन्दै उनले सो प्रस्तावका सर्तहरू ठाडै अस्वीकार गरेका हुन्। इजरायल समर्थित युद्धविरामको प्रस्तावको प्रतिउत्तरमा हमासले पनि एक पछि अर्को गर्दै मागहरू राखेपछि नेतान्याहुको अभिव्यक्ति आएको हो। हमाससँगको वार्तामा कुनै प्रगति नभएको अनि उसले राखेको सर्तलाई बेतुकको बताएका थिए।

क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपालकाे विजयी सुरूवात

घरेलु टोली नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा विजयी सुरूवात गरेको छ। बिहीबार भएको पहिलो खेलमा क्यानडामाथि नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो।

जितकाे लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ दशमलव ५ ओभरमा २१७ रनमा अल आउट भयो। क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन्। नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेल एक्लैले ४ विकेट लिए। उनको ब्याटिङ चलेन तर, बलिङमा जादू चलाए। अब सिरिजको दोस्रो खेल शनिबार हुनेछ।

Logo