शुक्रबारदेखि ई-भिसा लागू, देउवा बोल्दाबोल्दै हल खाली भएपछि… [भिडियाेसहित]

शुक्रबारदेखि ई-भिसा लागू, देउवा बोल्दाबोल्दै हल खाली भएपछि… [भिडियाेसहित]

केन्द्रबिन्दु
112
Shares

शुक्रबारदेखि ई–भिसा लागू

अध्यागमन विभागले शुक्रबारदेखि ई–भिसा लागू गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन्।

ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए ।बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई–भिसा लागू भएको हो।

कोशी प्रदेशमा मन्त्रीमण्डल बिस्तार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुई जना मन्त्री थप गर्दै मन्त्रीमण्डल बिस्तार गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्न लाग्दा मुख्यमन्त्री कार्कीले सरकार बिस्तार गरेका हुन्।

उनले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जामगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी रामलाई जिम्मेवारी दिएका छन्। उनले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन्।

एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिएकी हुन् । समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई पनि दिन माग गरेका थिए । तर, उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन्।

वैदेशिक रोजगारीमा जानेहरुले लिनुपर्ने अभिमुखीकरण तालिम सञ्चालनबारेको पछिल्लो निर्णयबाट श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय पछि नहट्ने

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगारीमा जानेहरुले लिनुपर्ने अभिमुखीकरण तालिम सञ्चालनबारेको पछिल्लो निर्णयबाट पछि नहट्ने देखिएको छ। विदेश जाँदा श्रमिकले लिनुपर्ने अभिमुखीकरण कक्षाको पाठ्यक्रमलाई बदल्ने, त्यसबापतको श्रमिकले तिर्ने शुल्क चार गुणाले बढाउने र परीक्षा समेत लिएर पास भएकालाई मात्रै वैदेशिक रोजगारीमा जान अनुमति दिने गरी भएको व्यवस्था तत्काल संशोधन नगर्ने श्रम मन्त्रालयको अडान छ।

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ। शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख छ। पाँच बुँदे सहमतिसँगै कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ।

लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छः सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।शुक्रबार नेपाली काँग्रेस काठमाडौं जिल्लासम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने उनको भनाइ छ।

नेपाल स्काउटको निर्वाचनका विषयमा भएका निर्णयका कागजात झिकाउन सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले नेपाल स्काउटको निर्वाचनका विषयमा भएका निर्णयका कागजात झिकाउन आदेश गरेको छ । न्यायाधीशहरू सपनाप्रधान मल्ल र डा। नहकुल सुवेदीको संयुक्त इजलासले आज निर्वाचन प्रक्रिया रोक्ने विषयमा प्रधानमन्त्रीबाट पुस १७ मा भएको निर्णय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र र निर्वाचन समितिको निर्वाचन गराउन नसकिने निर्णय झिकाउन आदेश गरेको हो।

राष्ट्रपति पौडेलले गरे क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् ।मन्त्रिपरिषद्को सिफारिसअनुसार यसअघि नै उनीहरूको संसदीय सुनुवाइको प्रक्रिया पूरा भइसकेको थियो । क्यानडाका लागि नियुक्त भएका राजदूत पौड्याल निवर्तमान परराष्ट्र सचिव हुन्।

माओवादीको वैशाखी टेकेर होइन आफ्नै बुतामा लड्ने हैसियतको पार्टी बनाउन नसक्ने काँग्रेस कहीँ पनि पुग्दैनः मीनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डा.मीनेन्द्र रिजालले माओवादीको वैशाखी टेकेर होइन आफ्नै बुतामा लड्ने हैसियतको पार्टी बनाउन नसक्ने हो भने काँग्रेस कहीँ पनि नपुग्ने बताएका छन् ।नेपाली कांग्रेसको काठमाडौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता डा. रिजालले कांग्रेसलाई नयाँ बनाउने होइन, पहिलेका नेताहरुको पालाको जस्तै पुरानो र बलियो पार्टी बनाउनुपर्ने बताए।

चीन भ्रमणका क्रममा सहमति र सम्झौता भएको आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने प्रधानमन्त्रीकाे आश्वासन

चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा सहमति र सम्झौता भएको आफ्नो लगानीका आयोजनालाई तीव्रता दिने आश्वासन दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को विदेश विभागकी उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण गरेर फर्किएको केही समयपछि चीनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी आफ्नो लगानीमा निर्माण भइरहेका आधा दर्जन आयोजना निर्माणमा तीव्रता दिने आश्वासन दिएको हो।

रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने

रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने भएको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरिएको हो । मैदानको उद्घाटनमा चार टिमसम्मिलित टी–२० फर्म्याटको क्रिकेटप्रतियोगिता हुनेछ।

अध्यागमन अधिकृतलाई हातपात गर्ने तीन जना प्रहरीलाई डीआईजी अर्जुन चन्दले गरे पुरस्कृत

अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले पुरस्कृत गरेका छन्। माघ १२ मा चेकजाँच गर्ने क्रममा अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई कुटपिट गरेको आरोप खेपेकाविमानस्थलका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीलाई १२ सय रुपैयाँ, प्रहरी सहायक निरीक्षक सन्जय तामाङलाई ११ सय र प्रहरी जवान रविजंग गुप्तालाई ८००रुपैयाँ नगद पुरस्कारले पुरस्कृत गरेका हुन् ।

पाकिस्तानमा मतगणना जारी रहँदा स्थिति निकै तनावपूर्ण

पाकिस्तानमा चुनावी मतगणना जारी रहँदा स्थिति निकै तनावपूर्ण बनेको छ । शुरुआती आँकडामा इमारन खानको पार्टी अगाडि रहेका स्थानमा नवाज शरिफको पार्टी अगाडि देखिन थालेको छ । चौथो पटक प्रधानमन्त्री बन्न लागेका नवाज शरीफले लाहौरको एनए १३० सिटमा जितेका छन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार मनसेहरा सिटमा शरिफले चुनाव हारेको भए पनि लाहौरको एक सिटमा जीत हात पारेका हुन् ।

दीपेन्द्रसिंह ऐरी आइएल टी–२० प्रतियोगिता सहभागि हुन युएई प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी–२० प्रतियोगिता युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए।

जारी प्रतियोगितामा दीपेन्द्र सम्मिलित जायन्ट्सले हालसम्म ९ खेल खेलिसकेको छ । त्यसमध्ये ५ खेलमा जित र ४ खेलमा हारसहित १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । लिग चरणमा एक खेल मात्रै खेल्न बाँकी रहँदा गल्फ जायन्ट्सको प्ले अफमा पुग्ने सम्भावना भने बलियो छ । तर, नेपाली टिममा क्यानडाविरुद्धको सिरिजमा पनि नरहेका उनले नामिबिया र नेदरल्यान्डविरुद्ध हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ ।

Logo