जीबी-रवि मुछिएको प्रकरणमा सीआईबीले सुरु गर्‍यो अनुसन्धान, मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी [भिडियाेसहित]

जीबी-रवि मुछिएको प्रकरणमा सीआईबीले सुरु गर्‍यो अनुसन्धान, मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी [भिडियाेसहित]

केन्द्रबिन्दु
378
Shares

सीआईबीले बढायाे जीबी राई र रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा पुगेर जीबी राई र रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान अघि बढाएको छ।

ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र उपप्रधान तथा गृहमन्त्रीसमेत भइसकेका रास्वपाका सभापति रवि लामिछाने जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान अघि बढाएको हो।

ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ का ४५ वर्षीय जीबी राईसहित थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ । तर, उनीहरू अझै पक्राउ परेका छैनन्। सूर्यदर्शन सहकारीका १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको खुलेको छ ।

मन्त्री ज्वालालाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घट्नामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्ने तयारी गरेका छन्। मन्त्री ज्वाला उक्त घट्नामा दोषी देखिएको भनेर छानबिन समितिको प्रतिवेदन आउँदापनि प्रधानमन्त्रीले किन बर्खास्त नगरेको भनेर विषय संसद्मा समेत प्रवेश गरेपछि प्रधानमन्त्रीले यस्तो तयारी गरेका हुन्।

सांसदहरुसँगको हिजो(आइतबार)को प्रश्नोत्तर कार्यक्रममा समेत प्रधानमन्त्री प्रचण्डले छानबिन समितिको प्रतिवेदन बुझेर आवश्यक कारबाही गर्छु भनेर प्रतिबद्धता जनाएका थिए । प्रधानमन्त्री प्रचण्डले मन्त्री ज्वालालाई राजीनामा दिन भनिसकेका छन्।

कांग्रेसले भविष्यमा गर्ने गठबन्धनको विषयमा तत्कालीन परिस्थितिमा निर्णय गर्न सक्छः सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले भविष्यमा गर्ने गठबन्धनको विषयमा तत्कालीन परिस्थितिमा निर्णय गर्न सक्ने बताएका छन्।

महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गर्न लागेको सांगठनिक प्रस्तावमा उल्लेखित भविष्यमा गठबन्धन नगर्ने प्रस्तावप्रति आपत्ति जनाएका सभापति देउवाले बैठकको उद्घाटन समारोहबाटै कटाक्ष गरेका हुन्।

थापाको प्रतिवेदनमा भविष्यमा गठबन्धन नगर्ने प्रस्ताव राखिएपछि त्यसलाई परिमार्जन गर्नका लागि देउवाले थापासँग छलफल गर्दै आएका छन्। दुवै पक्ष आ-आफ्नै अडानमा कायमै रहँदा थापाको प्रतिवेदनले अन्तिम रुप पाइसकेको छैन।

प्रमुख प्रहरी निरीक्षक श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानबिन सुरू

प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानबिन गरिएको छ। आइतबार साँझ कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट गोली चलेको प्रकरणबारे परिसरमा नै तानेर छानबिन गरिएको हो।

परिसर प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल नेतृत्वको समितिले घटनाबारे छानबिन थालेको हो। समितिमा अन्य दुईजना सदस्य छन्।

ड्युटी सकेर कार्यालय फर्किएका श्रेष्ठले पेस्तोल परीक्षण गर्दा एक राउन्ड गोली फायर भएको थियो। भुँइमा लागेको गोली उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड र एक सेवाग्राहीको खुट्टामा लागेको थियो।

प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा नभई एकलौटी गरेकोओलीकाे टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनसक्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको टिप्पणी गरेका हुन्।

‘एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने। अहिले ३ जना सिफारिस भएको छ क्यारे, तीन जनामा पनि तेस्रोचाहिँ नियुक्त होलाजस्तो लाग्छ छाँटकाँट हेर्दा’ उनले भने।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम चौधरी भएको जानकारी निर्वाचन आयोग पुगेको छ। २७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए।

कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको हो। तर, आयोगले त्यसउपर कुनै निर्णय लिएको छैन।

ईपीएस कोरिया परीक्षा साेमबारबाट सुरु

ईपीएस कोरिया शाखाले सन् २०२३ को उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षा साेमबारबाट सुरु भएको छ । तीन चरणमा हुने परीक्षाको पहिलो चरण आज सुरु भएको हो। पहिलो चरणको परीक्षा चैत २४ गतेसम्म जारी रहने वैदेशिक रोजगार विभागले जनाएको छ।

एक लाख ६३ हजार ६३५ जना परीक्षार्थी रहेकोमा पहिलो चरणको परीक्षामा ४७ हजार ४२९ जना सहभागी हुनेछन्। ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको परीक्षा कार्यतालिकाअनुसार सबै परीक्षार्थी सहभागी हुन करिब एक वर्ष लाग्नेछ। यस वर्षको फागुन महिनाबाट सुरु भएको परीक्षा आगामी वर्षको पुससम्म चल्नेछ।

वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। सोमबार बेलुकी ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल भन्सारसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।

कर्फ्यू आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाइएको छ। हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

मानव अधिकार उल्लङ्घन

सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा ९ हजार ३ सय ८८ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ। सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घट्नामा ९ हजार ३ सय ८८ जना पीडित भएको जानकारी दिएको हो।

सन् २०२३ मा मानव अधिकार उल्लङ्घनका घटनामा १ सय ४६ जना महिला र ८ सय ४२ पुरुष गरी जम्मा ९ सय ८८ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी ज्यादतीका घटनामा ७ हजार ७ सय १६ महिला, २ जना क्यु र ६ सय ८२ जना पुरुष पीडित भएको तथ्यांक छ।

पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु

पपुवा न्यू गिनीको उच्च पहाडी क्षेत्रमा भएको जातीय द्वन्द्वमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।

पपुवा न्यूगिनीको स्थानीय पत्रिका पोस्ट कुरियरका अनुसार एङ्गा प्रान्तको वापेनामान्डाको प्रहरीले आइतबार बिहानदेखि सुरु भएको भिडन्तपछि सडक किनार, घाँसे मैदान र पहाडबाट ६४ जनाको शव फेला परेको पुष्टि गरेको छ।

सुरक्षाकर्मीले झाडीमा अझै केही शव रहेको बताएका छन्। यसअघि अस्ट्रेलियाली समाचार संस्था एबिसी न्युजले आदिवासी समुदायबीचको भिडन्तमा कम्तीमा ५३ जनाको मृत्यु भएको र झाडीमा अझै धेरै मानिसको मृत शरीर रहेको हुनसक्ने बताएको थियो।

नेपालीलाई युएईमा मृत्यु दण्ड

युनाइटेड अरब इमिरेट्स (यूएई)मा कार्यरत एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ। विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो।

आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले पक्राउ गरेको थियो । पीडित परिवारले ५० लाख ब्लड मनी मागेको छ।

नेदरल्यान्ड्स नामिबियासँग ७ विकेटले पराजित

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ। टीयु मैदानमा नामिबयाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ दशमलव १ ओभरमा सबै १० विकेट गुमाउँदै १२३ रन बनाएको थियो। नामिबियालाई सस्तैमा समेट्न दत्त एक्लैले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ ओभरमा ३४ रन खर्चिंदै ६ विकेट लिए।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटले विजयी भयो। आजको खेलपछि तीनै टोलीले २-२ अंक बटुलेको छ।

Logo