नयाँ गठबन्धनमा रास्वपाले मार्यो बाजी, प्रदेशमा माओवादी र कांग्रेसबीच लडाईं [भिडियाेसहित]

नयाँ गठबन्धनमा रास्वपाले मार्यो बाजी, प्रदेशमा माओवादी र कांग्रेसबीच लडाईं [भिडियाेसहित]

केन्द्रबिन्दु
14
Shares

नयाँ सत्ता समिकरण बनेसँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन धमाधम फिर्ता

नयाँ सत्ता समिकरण बनेसँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन धमाधम फिर्ता लिन थालेको छ । गण्डकीको आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए । त्यस्तै, सुदुरपश्चिम, लुम्बिनीमा पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा नदिने

केन्द्रमा सत्ता समीकरण बनेपछि कोशीप्रदेशमा नेपाली कांग्रेसबाट विद्रोह गर्दै नेकपा एमालेका सांसदहरुको समेत समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकार अब के होला भन्ने चासो बढेको छ ।

मुख्यमन्त्री कार्कीले राजीनामा नदिने बताएका छन् । सरकारमा सहभागी रहेको माओवादीको भने यसमा केही प्रतिक्रिया आइसकेको छैन। केन्द्रबाट हुने निर्देशन र गठबन्धन दलहरुबीचमा बन्ने सहमतिका आधारमा माओवादीले निणर्य लिने देखिएको छ।

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात जना

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ ।४० जनाभन्दा बढी घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो ।

घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढ्याे

पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ ।

हालसम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिमा साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ ।

समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारी कारबाहीमा

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो । अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गरेर आम उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको हो ।

नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला

नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ६ महिनाको जस्तो देखिने शिशु फेला परेको हो । घटनाबारे अनुसन्धान भइरहको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।

युक्रेनमा युद्ध अपराध गरेको आरोपमा उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पूर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।आईसीसीले सेनाका उच्च अधिकारी सर्गेई कोबिलाश र नौसेनाका उच्च अधिकारी भिक्टर सोकोलोभलाई पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

उनीहरुलाई २०२२ अक्टोबर र मार्च २०२३ को बीचमा युक्रेनको एक विद्युतीय पूर्वाधारमा उनीहरुको नेतृत्वमा रहेको सेनाको टोलीले मिसाइल आक्रमण गरेको आरोप लगाइएको खबरमा उल्लेख छ ।

क्यानडाले विश्वकप लिग-२ क्रिकेट अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक शृंखलामा शानदार प्रदर्शन गर्दै

नेपालसँग तीन खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलामा क्लिन स्वि भएको क्यानडाले विश्वकप लिग-२ क्रिकेट अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक शृंखलामा शानदार प्रदर्शन गरिरहेको छ ।

क्यानडाले तीनवटा खेल खेल्दा सबैमा जित हात पारेको छ । यूएईलाई दुवै खेलमा पराजित गरेको छ भने स्कटल्यान्डसँगको पहिलो खेलमा पनि जित हात पारेको छ । शृंखलामा अब क्यानडा र स्कटल्यान्डबीच एक खेल हुन बाँकी छ ।

Logo