विश्वासको मत पाएपनि प्रचण्डको समर्थन खस्कियो, रेशमको भावुक स्टाटसमा रञ्जिता बोलिन् [भिडियाेसहित]

विश्वासको मत पाएपनि प्रचण्डको समर्थन खस्कियो, रेशमको भावुक स्टाटसमा रञ्जिता बोलिन् [भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

प्रधानमन्त्रीले पाए तेस्रो पटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्षको आम निर्वाचनपछि तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन्।

संसदमा उपस्थित रहेको २६८ सांसदमध्ये प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १५७ जना सांसदले मतदान गरेका हुन्। विपक्षमा ११० मत पर्यो भने १ सांसद तटस्थ रहे। यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्।

फरक विचार भएकै कारण परिवार नफुट्ने रञ्जिता श्रेष्ठकाे दावी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीसँग वैचारिक मतभेद रहेको स्वीकारेकी छिन्। तर, फरक विचार भएकै कारण आफूहरुको परिवार नफुट्ने उनको प्रष्टीकरण छ।

नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा पत्नी रञ्जितालाई इंगित गर्दै लेखेको भावुक स्ट्याटस अहिले भाइरल छ। यसैबीच रञ्जिताले रेशमले स्ट्याटस लेख्दा आफूँसँगै रहेको र फरक विचार भएकै कारण परिवार नफुट्ने बताएकी हुन्।

तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त

तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरेका हुन्।

सत्ता समिकरणमा परिवर्तन आएसँगै नयाँ गठबन्धन सरकारले ती प्रदेश प्रमुखलाई पदमुक्त र उनीहरूका स्थानमा अरू व्यक्तिको नाम सिफारिस गरेको थियो ।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार गठनका लागि आह्वान

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका छन् । कोसी प्रदेशसभा सचिवालयले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरताका लागि सर्वदलीय सरकार आवश्यक रहेको बताएका हुन्।

बदलिएको राजनीतिक परिवेशमा समय नपुगेरै प्रदेशसभा भंग गर्नुपर्ने अवस्थाभन्दा सबैको सहकार्यमा सदनलाई प्रभावकारी बनाउन उचित रहेको उनको भनाइ छ।

चक्रपथ सुधार आयोजनाको काम अनिश्चित

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन्।

सामाजिक संजालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन्।

हाल दैनिक २ हजार भन्दा बढीको हाराहारीमा एनओसी जारी

पछिल्लो समय नो अब्जेक्सन लेटर (एनओसीए) लिनेहरूको चाप बढे सघै हाल दैनिक २ हजार भन्दा बढीको हाराहारीमा एनओसी जारी भइरहेको शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले जानकारी दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हिजो (मंगलबार मात्रै दुई हजार ८६ एनओसी जारी भएको थियो । जसमा एक हजार १७७ एनओसी स्वीकृति भएका थिए । त्यस्तै ३२८ निवेदन रिजेक्ट भएका थिए । त्यस्तै १२७ निवेदन क्यान्सिल भएका थिए भने एक हजार ९५९ ईश्यु भएका थिए । मगंलबार सम्म सात हजार ५४० निवेदन पेण्डिङमा रहेका छन्।

बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले बुझायाे प्रतिवेदन

गत ६ फागुनमा प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठको कमजोरीका कारण गोली चलेको छानबिन समितिको निष्कर्ष छ। गोली लागेर इन्स्पेक्टर श्रेष्ठका बडीगार्ड र एक जना सेवाग्राही सामान्य घाइते भएका थिए । छानबिन समितिले इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

गर्भवती तथा सुत्केरीको हवाई उद्धार

नेपालमा हालसम्म ज्यान जोखिममा परेका छ सय ५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी प्रापत भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले आर्थिक वर्ष २०७५-७६ देखि चालु आव २०८०-८१ को फागुन २८ सम्ममा सो सङ्ख्यामा गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको जानकारी दिएकी हुन्।

उनका अनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उक्त परियोजनाअन्तर्गत हवाई उद्धार गरिएको हो।

होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात गर्ने गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मी पक्राउ

होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई प्रहरीले बुधवाबार पक्राउ गरेको छ ।

रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन्। रेग्मीले छात्रामाथि गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। पीडितले छात्राले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अङ्कले घटेर दुई हजार एक सय आठ दशमलव ७२ अङ्कमा कायम भएको छ ।

आज तीन सय १० कम्पनीका एक करोड आठ लाख ८९ हजार छ सय ३४ कित्ता शेयर ७३ हजार पाँच सय छ पटक खरिद बिक्री हुँदा रु चार अर्ब २४ करोड ८५ लाख २३ हजार तीन सय ३२ बराबरको कारोबार भएको छ।

हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट दिए राजीनामा

हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन् । क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरु बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन्।

विद्रोही पक्षले अहिले राजधानीको ८० प्रतिशत भू-भागमा नियन्त्रण गरेको दाबी गरिरहेका बेला हेनरीले शान्ति सुव्यवस्था कायम गराउनका लागि आफू पदबाट पछि हट्न तयार रहेको बताएको अल जजिराले जनाएको छ। पदबाट राजिनामा दिए पछि अव नयाँ सरकार नबन्दासम्म हेनरी कार्यबहाक प्रधानमन्त्रीको रुपमा रहने छन्।

नेपाल पपुवा न्यूगिनीसँग ८७ रनले पराजित

बुधबार हङकङमा भएको त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत उपाधि भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग ८७ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा पपुवा न्यूगिनीले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटिएको हो।

निकै खराव सुरुवात गरेको नेपाल पपुवा न्यूगिनीका बलरसामू निरीह बन्यो । नेपाली खेलाडीहरु खुलेर क्रिजमा टिक्न नै सकेनन्। नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, आज नेपाल कमजोर रपमा प्रस्तुत हुँदा उपाधि गुमायो ।

Logo