नेपाली फिल्म स्टार: आफैंले निम्त्याएका प्रतिस्पर्धी

नेपाली फिल्म स्टार: आफैंले निम्त्याएका प्रतिस्पर्धी

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय कलाकार हुन्, अनमोल केसी । होस्टेल फिल्ममार्फत उदाएका यी हिरोले आफ्नो जेनेरेसनलाई हलसम्म ल्याउने काम गरे। यति मात्र हैन आफ्नो जेनेरेसनकै भरमा फिल्म चलाउन सक्ने पनि यिनै हुन् भन्दा फरक नपर्ला। किनकी दशक अगाडि फर्किने हो भने, फिल्मका हिरो राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट मात्र हुने गर्थे। तर, यतिबेला त्यो अवस्था फेरिएको छ। आर्यन सिग्देलले आफूलाई 'लभर ब्वाई'को रुपमा फिल्ममा स्थापित गरिसकेपछि उदाएका अनमोलले त्यसलाई निरन्तरता दिए। 

फिल्म बन्ने स्वरूप फेरियो। त्यसपछि कमश: उदाए प्रदीप खड्का, पल शाह, सलिनमान बनियाँ, धिरज मगर आदि। यतिबेला अधिकांश नेपाली फिल्मका मेकरले लभस्टोरी फिल्मको तयारी गर्दा सोच्ने नाम माथि उल्लेखित नै हो। किनकी दर्शकमार्फत यिनै हिरोले 'चकलेटी' को ट्याग पाएका छन् । साथै, यिनको डेब्युको कथा पनि उस्तै छ। डेब्युमै चकलेटी लुक्सका कारण नोटिस भएका अनमोलले जति फिल्ममा अभिनय गरेका छन् त्यसको तुलनामा धेरै छाडेका छन्। उनले सुनेकै फिल्मको कथाले स्टार बनेका हुन्, प्रदीप खड्का। 

सुदर्शन थापाले लभ स्टोरी फिल्म निर्देशनको सोच बनाएपछि सोचिएको नाममध्ये एक हुन्, अनमोल। 'प्रेम गीत' मा उनले अनमोललाई 'प्रेम' को क्यारेक्टरमा नदेखेका होइनन्। यद्यपि यी दुइको सहकार्य भएन। अन्ततः फिल्ममा अडिसनमार्फत आए, प्रदीप। अध्ययनको लागि अस्ट्रेलियामा उडान भर्न तयार प्रदीपलाई 'प्रेम गीत' ले अवसर मात्र दिएन, स्टार नै बनायो। उनका फ्यानले प्रदीपलाई 'प्रेम' भनेर पनि सम्बोधन गर्ने गरेका छन्। 

प्रदीपले पनि पहिलो फिल्मको सफलतापछि स्टारडम नदेखाएका होइनन्। मौखिक कुराकानीमा लगभग 'ए मेरो हजुर २' फिल्म गर्ने तय भएता पनि प्रदीप फिल्मको छायांकनको समयसम्म हिरो रहेनन्। झरना थापाको डेब्यु निर्देशन रहने फिल्मका लागि अनमोल र प्रदीपलाई अफर नगएको होइन। तर, स्टारसँग चित्त बुझ्दो छलफल नभएपछि निर्माण पक्षले नयाँ अनुहार सलिनलाई फिल्ममा ल्याएको हो। 

एकाध विज्ञापन र मोडलिङ गरेका सलिनलाई लुक्सकै कारण फिल्ममा कास्ट गरिएको थियो। जसले फिल्मलाई फाइदा नै पुर्‍यायो भने क्षेत्रलाई नयाँ अप्सन पनि दियो। त्यसपछि निर्माता निर्देशकले अनमोल र प्रदीपसँगै सलिनलाई पनि लभ स्टोरीमा हिरो देख्न थाले। यस्तै, फिल्म नाई नभन्नु ल ४ मार्फत उदाएका कलाकार हुन्, पल शाह। म्युजिक भिडियोमा स्थापित भइसकेका पललाई निर्देशक विकासराज आचार्यले डेब्यु गराएका हुन्। त्यसपछि उनले अभिनय गरेको फिल्म म यस्तो गीत गाउँछुलाई दर्शकले रुचाए। फलस्वरूप म्युजिक भिडियोमा बटुलेको क्रेजले उनी पनि स्टारमै गनिए। त्यसपछि उनले फिल्ममा निरन्तरता दिइरहेका छन्। 

चकलेटी हिरोको लिस्टमा पलसँगै धिरज मगर पनि थपिए। उनी कोरियोग्राफर रेनाशा वान्तवा राईको डेब्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मार्फत डेब्यु गरेका हुन्। दोस्रो फिल्म रिलिज नहुँदै धिरज सम्भावना बोकेको अनुहारमा परिसकेका छन्। धिरज अगावै निर्माण पक्षले केहीँ स्थापित चकलेटी हिरोलाई कास्ट गर्ने तयारी नगरेको होइन। तर, आपसी कुरा नमिल्दा नयाँ अनुहार धिरजले दर्शकसामू प्रस्तुत हुने अवसर पाए। 

यसरी डेब्यु संयोग हेर्दा एकपछि अर्का चकलेटी हिरोले आफ्नो अप्सन आफैंले तयार गरेका छन्। ढिलोचाँडो नयाँ अनुहार आउने त थिए नै तर, स्थापित भइसकेपछि यिनैले आफ्नो प्रतिस्पर्धीलाई आफैंले फिल्म नगरीमा ल्याए भन्दा फरक नपर्ला।न्युज कारखानाबाट

Logo