सरकारले गर्‍यो होटलहरुको वर्गिकरण, नयाँ मापदण्ड कस्तो ?

सरकारले गर्‍यो होटलहरुको वर्गिकरण, नयाँ मापदण्ड कस्तो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ, बार तथा पथ प्रदर्शक नियमावली २०३८ ले दिएको अधिकार प्रयोग गरि होटलहरूको वर्गिकरण गरेको छ ।

वर्गिकरण अनुसार सरकारले एकतारेदेखि पाँचतारेसम्मका होटलहरूलाई काठमाडौँ उपत्यकाभित्र २० देखि १५० वटा सुत्ने कोठा तथा उपत्यका बाहिरका निकुन्ज तथा संरक्षित क्षेत्रभित्र खुल्ने होटेलले तोकिएको मापदण्ड पूरा गरेमा ४० कोठासम्मका होटललाई पाँचतारे स्तरमा वर्गिकरण हुन सक्ने गरी होटेलको मापदण्ड परिमार्जन गर्दै यस्तो व्यवस्था ल्याएको छ ।

मन्त्रालयले होटेल, रिर्सोट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेक फाष्टहरुको वर्गिकरण र मापदण्डमा हेरफेर गर्दै यस्तो मापदण्ड ल्याइएको हो । मन्त्रालयले परिमार्जन गरेको नयाँ मापदण्ड नयाँ बन्ने होटेलहरुको हकमा लागू हुने भएको छ । तर यसअघि नै पाँचतारेको स्तर लिइसकेकाहरुको हकमा भने पहिलाकै स्तरमा रहने मन्त्रालयले जनाएको छ ।

परिमार्जित नयाँ मापदण्ड अनुसार होटलले दिने सेवा सुविधा समेत २४ सै घण्टा उपलब्ध हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, काठमाडौं उपत्यकाका भित्रका ५ तारे डिलक्स होटलहरुमा कम्तीमा पनि २० देखि १५० वटा सुत्ने कोठा अनिवार्य हुनु पर्ने व्यवस्था गरि होटलहरुको वर्गिकरण गरिएको मन्त्रालयले जनाएको छ ।

पाँचतारेस्तरको होटलको १०० कोठा, चारतारेको ८०, तीनतारेको ६० वटा, दुईतारे स्तरको होटलमा ४० र एकतारेमा २० वटा सुत्ने कोठा अनिवार्य हुनुपर्ने व्यवस्था नयाँ वर्गिकरणले गरेको छ । काठमाडौं बाहिरका निकुन्ज तथा संरक्षित क्षेत्रभित्रका होटलमा ४० वटा सुत्ने कोठासम्मका होटललाई पाँचतारेको स्तर दिने व्यवस्था गरेको छ । अब यी क्षेत्रमा होटेल खोल्दा ७ कोठा मात्र भएपनि अन्य मापदण्ड पूरा गरेको होटेलले तारे मान्यता पाउनेछ । अहिले उपत्यका बाहिर एकतारे स्तरको होटेल हुन कम्तिमा १५ कोठा हुर्ने व्यवस्था छ ।

त्यसैगरी पाँचतारे डिलक्स होटलमा ४० वटा सवारी साधन पार्किङ हुनै पर्ने व्यवस्था गरिएको छ । ४० वटा सवारी साधन पार्किङ नभएको होटल पाँचतारे डिलक्सको मापदण्डभित्र पर्दैन । पाँचतारेमा ४०, चारतारेमा, २०, तीनतारेमा १५, दुईतारेमा १० र एकतारेमा ५ वटा सवारी साधन अट्ने हुनुपर्ने परिर्माजित मापदण्डमा उल्लेख गरिएको छ ।

होटलहरुको वर्गिकरणसँगै पर्यटकस्तरको होटल दर्ता गर्दा लाग्ने नयाँ दस्तुर

नयाँ मापदण्ड अनुसार पर्यटक स्तरको होटल, पर्यटक आवास, लज, रेष्टुराँ तथा बार दर्ता गर्दा लाग्ने दस्तुर पनि परिर्माजन गरिएको छ ।
यस्तो छ नयाँ दस्तुर

क. साधारण होटेल –५,०००
ख. एक तारे होटेल – १०,०००
ग. दुई तारे होटेल – २०,०००
घ. तीन तारे होटेल – ३०,०००
ङ.चार तारे होटेल –४०,०००
च. पाँच तारे होटेल (साधारण)–५,००००
छ.पाँच तारे होटेल (डिलक्स) –६०,०००
ज.पर्यटक आवास (साधारण) – १०,०००
झ. पर्यटक आवास (डिलक्स) – ४०,०००
ञ. लज, रेष्टूराँ तथा बार–५,०००

होटल निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरु
परिमार्जित नयाँ मापदण्ड अनुसार होटल निर्माण गर्दा भवन आचार संहिता, सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको प्रतिबिम्व हुने वा अवरोध हुने गर्न पाइने छैन । होटलको प्रवेश द्वारमा नै स्पष्ट देखिने गरी नेपाली र अंग्रेजी भाषामा नाम लेखिएको हुनु पर्नेछ । होटलमा उपलब्ध हुने सुविधा देखिने गरि नक्सा, मेनु तथा होटलको लवीमै महिला पुरुषको लागि छुट्टाछुट्टै शौचालय र सुज पोलिसको समेत व्यवस्था हुनुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, होटलले कम्पनी दर्ता र सञ्चालन इजाजत पत्र, तारा अंकित प्रमाणपत्र रिसेप्सनमा देखिने गरी राख्नु पर्नेछ भने रिसेप्सनमा बस्ने कर्मचारी नेपाली भाषाका साथै अंग्रेजी राम्रोसँग बोल्न जान्ने हुनु पर्नेछ । होटल प्रवेश गरेदेखि चौबिसै घण्टा सीसीटीभीले निगरानी गरेको र सो निगरानी कम्तीमा ६ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था पनि नयाँ मापदण्डमा उल्लेख गरिएको छ ।

त्यसरी नै कोठाको क्षेत्रफल पनि एकतारेदेखि पाँचतारेसम्मको छुट्टाछुट्टै व्यवस्था गरेको हुनु पर्नेछ । होटलमा सिंगल बेडरुमका लागि १५० देखि २२५ वर्गफिटसम्म हुनुपर्ने व्यवस्था गरिएको छ भने डबल बेडरुमका लागि १७० वर्गफिटदेखि २५० वर्गफिट हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

कुन तारे होटलमा कस्ता खानाको व्यवस्था ?

नयाँ मापदण्ड अनुसार अब तारे स्तरका होटलहरुमा कस्ता र कुन खानाको व्यवस्था गर्नु पर्ने भन्ने पनि नयाँ व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार चारतारे भन्दा माथिको होटेलहरुमा हलाल फुडको व्यवस्था हुनुपर्ने भएको छ । अहिले सिमित होटलले मात्र यस्तो सुविधा दिने गरेका छन् । यो मापदण्ड आए पश्चात सरकारले अन्य होटलमा समेत यो अनिवार्य गरेको छ ।

त्यस्तै, विगतका मापदण्डमा होटलमा नेपाली मेनु अनिवार्य हुनु पर्ने व्यवस्था अनुसार नै पाहुनाले रैथाने नेपाली खाना माग गरेमा अनिवार्य उपलब्ध गराउनु पर्ने व्यवस्था कायम गरिएको छ । अब ‘चार तारे वा सोभन्दा माथिल्लो स्तरको होटेलको हकमा दिउसोको र बेलुकाको खानासँगै कुनै एक रैथाने परिकार कम्प्लिमेन्ट्रि उपलब्ध गराउनु पर्ने भएको छ । यस्तो व्यवस्थाले नेपाली मौलिक खानाको विश्वव्यापी प्रवर्द्धन गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

 

Logo