श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको छः सभामुख घिमिरे

श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको छः सभामुख घिमिरे

केन्द्रबिन्दु
0
Shares

मनहरी। सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उनले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताएका हुन्। उनले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने बताए। कोषमा हालसम्म रु ५१ अर्ब २९ करोड सङ्कलन भएको उनले बताए।

सभामुखका अनुसार राज्यले कमजोर नागरिकलाई आर्थिक सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको हो। कोषले श्रमिकको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उनले बताए। 

सङ्घीयतालाई सही ढङ्गबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको र सङ्घीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गरे। उनले नागरिकको हकअधिकार र सेवा प्रवाहका विषयमा सही ढङ्गबाट काम गर्न कुनै पनि कानुनले बाधा नपर्ने बताए। सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न आग्रह गरे।

सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरु जानकारी गराएर आबद्ध गराउनुपर्नेमा जोड दिए। राज्यले लिएको नीतिलाई कार्यान्वयनको पहल गरेको भन्दै उहाँले भीमफेदी गाउँपालिकाको प्रशंसा गरे।  

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा सङ्घीय र प्रदेश सरकारको लगानी गर्नुपर्ने बताए। सामाजिक सुरक्षा योजनाको स्थायित्व र निरन्तरताका लागि तीनै तहका सरकारको लगानी र श्रमिकको सहलगानी जरुरी रहेको उनले बताए। 

उनका अनुसार सङ्गठित र औपचारिक क्षेत्रमा २७ लाख श्रमिकमध्ये हालसम्म चार लाख ७८ हजार श्रमिक आबद्ध रहेको र सामाजिक सुरक्षा कोषमा हालसम्म देशभरका एक सय १३ रोजगार दाता संस्थाहरु दर्ता भएका छन्।

Logo