राष्ट्र बैंकले भन्यो- भ्रममा नपर्नुस्, बैंकिङ क्षेत्र पूर्णरूपमा सुरक्षित छ

राष्ट्र बैंकले भन्यो- भ्रममा नपर्नुस्, बैंकिङ क्षेत्र पूर्णरूपमा सुरक्षित छ

केन्द्रबिन्दु
42
Shares

नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ ।

केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै राष्ट्र बैंकले मंगलबार एक विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र ढुक्कसँग कारोबार गर्न निक्षेपकर्ता, ग्राहकहरुलाई आग्रह गरेकाे हाे । “नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएकाे छ ।

सबै बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप रहेको विज्ञप्तिमा उल्लेख छ । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा राष्ट्र बैंकले समयसमयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको समेत बताएको छ ।

Logo