सिरिज २ः व्यवसायीमाथिको निरन्तर आक्रमणले लगानी सम्मेलनलाई कस्ताे असर पार्ला ?

सिरिज २ः व्यवसायीमाथिको निरन्तर आक्रमणले लगानी सम्मेलनलाई कस्ताे असर पार्ला ?

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाल लगानी सम्मेलनको पूर्वसन्ध्यामा छ । आगामी बैशाखमा हुने भनिएको उक्त सम्मेलनको तयारीमा सरकार पनि दौडधुप गरिरहेको छ । जसको लागि विभिन्न देशका प्रतिनिधि साथै उद्योगी व्यवसायीहरूलाई बोलाउने काम भइरहेको भन्दै विभिन्न कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत बताउँदै आएका छन् ।

नेपालमा पछिल्लोसमय भएका व्यवसायीमाथिको आरोप प्रत्यारोपले लगानी सम्मेलनमा नकारात्मक असर पुर्याउला की भन्ने विषयले माहोल तताउँदै गएको छ । विभिन्न संघ संस्थाले व्यवसायीमाथि लागेका झुटो आरोपलाई नियन्त्रण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नमा सरकार लाग्नुपर्ने विषय बताउँदै आएता पनि सुनुवाइ भने हुन सकेको छैन ।

व्यवसायीमाथि लागेका झुटो आरोपलाई नियन्त्रण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नमा सरकार लाग्नुपर्ने विषय उठ्दै आएता पनि सुनुवाइ भने हुन सकेको छैन ।

नेपाल चेम्बर अफ कमर्सकाे अध्यक्ष राजेन्द्र मल्ल नेपालको ऐन नियमले पहिला थुन्ने अनि पछि सुन्ने भएकाले गर्दा समस्या भएको बताउँछन् । पहिला अनुसन्धान र प्रमाण जुटाई मात्र यस्तो कार्य अगाडि बढाउनुपर्ने उनको धारणा छ । ‘सरकारी नीति नियमको झन्झटले गर्दा अन्तर्राष्ट्रियमा यसको नकारात्मक सन्देश जान सक्छ भन्ने चिन्तामा हामी छौं, कुनै व्यक्ति देशको कानून भन्दा माथि हुनै सक्दैन, कानूनको पालना सबैले गर्नुपर्छ, ‘उनले भने, ‘त्यसैले अग्रिम जमानत लिएर अदालतको निर्णयपछि पूर्पक्षमा जाने विधि हुनुपर्छ, अगाडि नै पक्राउ गरेर दाेषी प्रमाण नभए उसको प्रतिष्ठा, सम्मान सकिन्छ, त्यसैले यस्तो विषयमा विचार पुर्याउनुपर्छ ।’

व्यवसायीलाई पलायन नभई स्वदेशमा काम गर्न सक्ने वातावरण मिलाउनुपर्ने पनि उनको भनाइ छ ।

अध्यक्ष मल्लले विगतमा लगानी सम्मेलन गर्दै आएता पनि त्यसको १० प्रतिशत पनि लगानी नभित्रिएको विषय उल्लेख गर्दै मुलुकलाई आवश्यक पर्ने विषयमा सम्मेलन फोकस हुनुपर्ने बताए । आगामी लगानी सम्मेलनमा उत्पादन र उत्पादनमूलक क्षेत्र पहिचान गरी निर्यातका सम्भावना बोकेका विषयमा छलफल हुन आवश्यक रहेको उनले बताए । ‘यसपटको लगानी सम्मेलनमा एकै पटकमा गर्न सकिन विषय हैन, मुलुकलाई आर्थिक सम्मृद्धि स्थायित्व र आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकता दिनुपर्छ, त्यो क्षेत्र कृषि, आईटी, जलविद्युत, पूर्वाधार विकास आदि हुन सक्छन् ।’ उनले भने ।

यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेश अग्रवालले व्यवसायीहरु पक्राउ परेको विषयले नै लगानी सम्मेलनमा असर नगरे पनि अन्तर्राष्ट्रियमा त्यसको गलत सन्देश जाने बताए । ‘हामीले अरुण चौधरी पक्राउ परेको विषयलाई लिएर विरोध जनाएका थियौं, हामीले त्यो बेला पक्राउ गरेर हैन, पक्राउको प्रक्रियालाई विरोध गरेका हौं, अनुसन्धान गर्न कसैलाई रोक्नुहुँदैन, तर प्रमाण जुटाएर पक्राउ गर्दा राम्रा हुन्थ्यो भन्ने माग थियो,’ उनले भने ।

अघिल्ला वर्ष लगानी सम्मेलन गर्दा किन अपेक्षाकृत लगानी भित्रिएन त्यसको बारेमा पनि अनुसन्धान राम्रोसँग गरी यसपटकको लगानी सम्मेलनको आयोजना गर्नुपर्ने उनको भनाइ छ ।

लगानीकर्ता मन्त्रालय, जस अन्तर्गतका निकाय धाउनु पर्ने र नीतिगत अप्ठ्यारोेले गर्दा समस्या भएको अध्यक्ष अग्रवालले बताए । ‘हामी पुराना नीति नियमले बाँधिएका छौं, यसको संशोधन आवश्यकता अनुसार भइरहेको पनि छ, यसपटको लगानी सम्मेलनमा सबै क्षेत्रलाई समेटेर गर्न आवश्यक छ,’ उनले भने । उनका अनुसार विदेशी लगानी आएपछि त्यसको फलोअप गर्न पनि आवश्यक छ ।

व्यवसायीहरु भन्छन्- नेपालमा अझै लगानीको वातावरण बनिसकेको छैन ।

यसैगरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलन मात्र नभई लगानीको वातावरण सिर्जना गर्ने क्रियाकलाप गर्न आवश्यक रहेको बताए । नेपालमा भएको पुँजीलाई पनि सहज परिचालन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने उनले बताए । ‘यहाँको समस्यालाई नै पहिला नसुल्झाउने हो भने ठूलो विदेशी लगानीको अपेक्षा नगर्दा हुन्छ, लगानीमैत्री वातावरण जग तयार भयो भने मात्र विदेशी लगानी भित्र्याउन सकिन्छ,’ उनले भने ।

उनका अनुसार नेपालमा अझै लगानीको वातावरण बनिसकेको छैन ।

लगानी गर्न सक्ने क्षेत्र भनेको जलविद्युत रहेको बताउँदै अध्यक्ष कार्कीले निजी क्षेत्रमैत्री कानून बनाउन आवश्यक रहेको पनि बताए । ‘सरकारले १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, त्यो लक्ष्य पूरा गर्नको लागि अहिलेबाट तयारी थाल्नुपर्छ, ‘उनले भने, ‘विदेशी आएर लगानी गरिहाल्छन् भन्ने विषयमा हामी भर पर्नुहुँदैन, लगानी सम्मेलनको यो सहि समय छ, त्यसको भरपुर सदुपयोग गर्न सक्नुपर्छ ।’

दुर्गा प्रसाईंको अराजकतामा व्यवसायी किन मौन ?
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लोसमय थप अराजक बन्दै गएका छन् । विभिन्न आन्दोलनको नाममा अराजक अभिव्यक्ति र गतिविधि गर्दै उनी थप उच्छ्श्रृङ्खल बन्दै गएका हुन् । पछिल्लोसमय बैंक तथा वित्तीय संस्थामा दिएका झुटा अभिव्यक्ति साथै व्यवसायीहरुलाई विभिन्न आरोप लगाउँदै गएका छन् । प्रसाईंको अराजकताको लगाममा सरकार आफैं मौन छ । व्यवसायीले पनि आफ्नो धारणा भने स्पष्ट राख्न सकेका छैनन् ।

सीएनआईका अध्यक्ष अग्रवालले प्रसाईंले बोलेका विषयको औचित्य नदेखेपछि रियाक्ट नगरेको बताए । ‘कुनै व्यक्तिले आरोप लगाई रहेका छन् भने त्यसको बढाई चढाई हामीले नै गरिरहेका हुन्छौं, जब कि उसको कुनै औचित्य छैन, बोल्नमा कसैले पनि रोक्न सक्दैन, तर बोल्दैमा त्यसले प्रभाव परिहाल्छ भन्ने पनि छैन ,’ उनले भने ।

उनका अनुसार नेपालका बैंक तथा वित्तीय संस्था सुरक्षित साथै विश्वसनीय रहेको छ ।

यस्तै, चेम्बरका अध्यक्ष मल्लले नेपालको बैंकिङ सेवा स्थायित्व रहेको बताए । ‘बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ, ब्याज पनि बुझाउनु पर्छ, बैंकले पनि सहजीकरण गर्दै सक्दो र सरल किसिमबाट ब्याजदर प्रदान गर्नुपर्छ,’ उनले भने ।

व्यवसायीमाथिको आक्रमण कहिलेसम्म ? के दोषी व्यापारी मात्र हुन् ?

Logo