महासंघका अध्यक्ष ढकालले गरे युएई र मङ्गोलियाका राजदूतसँग भेट, नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह

महासंघका अध्यक्ष ढकालले गरे युएई र मङ्गोलियाका राजदूतसँग भेट, नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटवार्ता गरेका छन्

उनले बुधबार युएईका राजदूत महामहिम अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत महामहिम गानबोल्ड डम्बाजाभसँग भेटवार्ता गरेका हुन्।

भेटमा ढकालले नेपालमा लगानी प्रवर्द्धन गर्न आग्रह गरेका छन्। नेपाल र यी दुई राष्ट्रबीचको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। यही वैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने नेपाल लगानी सम्मेलनमा सहभागी हुन सम्बन्धित देशलाई अध्यक्ष ढकालले आग्रह गरे।

युएईका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले दुवै देशका दूतावासको सहयोगमा नोभेम्बरमा दुबईमा आयोजना भएको नेपाल दुबई बिजनेस समिटको सफलताको लागि महामहिमलाई धन्यवाद दिए।

उनले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको पनि राजदूतलाई जानकारी गराए। भेटमा महामहिम अब्दुल्ला अल शम्सीले नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौता को सम्भावनाका बारेमा पनि कुरा राखे।

त्यसैगरी मङ्गोलियाका राजदूतसँगको भेटमा अध्यक्ष ढकालले आपसी व्यापार र लगानीका अवसरका विषयमा कुराकानी गरेका थिए । अध्यक्ष ढकालले नेपालमा जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाका बारेमा जानकारी गराए । उनले नेपालको बाह्य क्षेत्रको स्थिरताबारे पनि राजदूतलाई अवगत गराए।

Logo