कुन कम्पनीको प्यानल प्रयोग गरेर घर बनाउँदा कति लाग्छ खर्च ?

कुन कम्पनीको प्यानल प्रयोग गरेर घर बनाउँदा कति लाग्छ खर्च ?

केन्द्रबिन्दु
1.2k
Shares

-राजिव न्यौपाने

काठमाडौं । नेपालमा प्यानलका प्रडक्टहरू प्रयोग गरेर घरहरू बनाउनेहरुकाे संख्या दिनप्रति बढ्दो छ । सस्तो, राम्रो, गुणस्तर साथै भूकम्प प्रतिरोधी घर अहिलेको आवश्यकता पनि हो । उक्त विषयलाई मध्यनजर गर्दै विभिन्न प्यानलका कम्पनीहरूले फरकफरक विशेषताका प्यानलको उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक शशी साहले प्यानलका निर्माण सामग्री प्रयोग गरेर घर बनाउनेहरू क्रेज बढ्दो रहेको बताए । नेपालमा घर बनाउने अनेकौं विकल्पहरू आइरहेका छन् भने नयाँ प्रविधिबाट बनाइने घरको लागत कम, आकर्षक साथै छिटो निर्माण सकिन्छ । ‘समयसँगै घर बनाउने विषयमा पनि परिवर्तन आइरहेको छ, पहिला पक्की घर बनाउनु पर्छ भन्ने मान्यता धेरैले राख्नु हुन्थ्यो,’ उनले भने, ‘तर अहिले सुन्दर, सस्तो साथै सुरक्षित आवासलाई मान्छेहरूले मान्यता दिएका पाएका छौं, अधिकांश विशेषता प्यानलका घरमा पाइने भएकाले प्यानल रोज्ने धेरै हुनुहुन्छ ।’

प्यानलका कम्पनीहरूले ठाउँ–ठाउँमा डिलरहरू विस्तार गरी उपभोक्ताका बीच आफ्ना उत्पादन पुर्याउँदै आएका छन् । घर बनाउनका लागि अनेकौं निर्माण सामग्री खोज्नुपर्ने बाध्यताका साथै कम खर्चमा घर बनाउन चाहनेहरूको लागि प्यानल उपयुक्त हुनसक्छ ।

‘वालमा एसवाईको प्यानल प्रयोग गरी रुफिङमा जस्ता पाता लगाई झ्यालमा कम रेटको सामान प्रयोग गरेर सस्तोमा घर बनाउन सकिन्छ ।’

प्रिफाइभका घरहरू आरसिसी घरभन्दा कम नहुने नेपाल ईको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णभक्त दुवाल बताउँछन् । ‘प्रिफाइभका घर आरसिसी भन्दा कम छैनन्, यसको गुणस्तरमा प्रश्न उठाने ठाउँ छैन, ढुक्क भएर प्यानल प्रयोग गरी घर बनाउँदा हुन्छ,’ उनले भने ।

तपाईं पनि घर बनाउने योजनामा हुनुहुन्छ भने तपाईंका लागि उचित उपाय हुनसक्छ, प्यानलका निर्माण सामाग्रीको प्रयोगबाट बन्ने घर । कुन कम्पनीले बनाउँछन् कस्ता घर ? कति टिकाउ ?

एसवाई प्यानल नेपाल

एसवाई प्यानल नेपालले सन् २०१७ देखि प्यानलका प्रडक्टहरू उत्पादन गरी बिक्री गर्दै आएको छ । उक्त प्रडक्ट डिलरहरूले खरिद गरी विभिन्न स्थानमा सुन्दर घर बनाउँदै आएका छन् । देशका विभिन्न ठाउँमा ५० वटा भन्दा बढी डिलरहरू रहेको एसवाई प्यानलका प्रबन्ध निर्देशक शशी साहले जानकारी दिए । उनका अनुसार डिलरसँग समन्वय गरेर एसवाई प्यानलका आकर्षक घर बनाउन सकिन्छ ।

एसवाईको ३ स्क्वायर फीटको घर १० लाख, टु बीएचकेका लागि १८/२० लाख र थ्री बीएचके घर बनाउँदा २५/३० लाख रुपैयाँ खर्च हुने साहले बताए । ‘प्यानलको घर इन्सुलेटेडका लागि प्रख्यात भएको पाइन्छ, पूर्ण रूपमा इन्सुलेटेड भएको घर बनाउँदा महँगो पर्छ, सस्तो घर बनाउने तरिका पनि छन्,’ उनले भने, ‘वालमा एसवाईको प्यानल प्रयोग गरी रुफिङमा जस्ता पाता लगाई झ्यालमा कम रेटको सामान प्रयोग गरेर सस्तोमा घर बनाउन सकिन्छ ।’

प्रिफाइभका घर बनाउँदा बैंकबाट पनि कर्जा लिन सकिन्छ । आरसिसी घरको तुलनामा ५० प्रतिशत नै बैंकबाट कम कर्जा पाइने प्रबन्ध निर्देशक साहले बताए । प्यानल प्रयोग घर बनाउने अधिकांश विदेशबाट फर्किएका नागरिक रहेको बताउँदै प्यानल प्रयोग गरी घरका तला थप्नमाहरुको जमात पनि बढ्दो रहेको उनले जानकारी दिए ।

कोरियन प्रविधिको यो निर्माण सामग्री प्रयोग गरेर घर बनाउँदा कम लागतमा नै छिटो निर्माण गर्न सकिने, हेर्दा आकर्षक र सुन्दर देखिने हुँदा प्रयोगकर्ता माझ यसको माग बढ्दो रहेको पनि उनको भनाइ छ । जाडोयाममा न्यानो र गर्मी मौसममा व्यापक गर्मी हुनबाट रोकिनु, बर्खायाममा असिना पानीको आवाज भित्र नआउनु, थोरै क्षेत्रफलमा ठूलाठूला कोठा बन्नु आदि यस प्यानलका विशेषता हुन् ।

नेपाल ईको प्यानल

नेपाल ईको प्यानल कम्पनीले आफैं प्यानलको उत्पादन गरी घर बनाउँदै आएको लामो समय भइसकेको छ । यो ईको प्यानल धेरैका बीच लोकप्रिय पनि भइसकेकाे छ । नेपालमा ईको प्यानलको माग र यसबाट घर बनाउने संख्या बढ्दो रहेको नेपाल ईको प्यानल कम्पनीका सीईओ कृष्ण भक्त दुवाल बताए ।

ईको प्यानलका सामग्री प्रयोग गरेर २ तल्लाको ४ वटा कोठा भएको छुट्टै बाथरूम र भान्सासहितको घर करिव २० लाख रुपैयाँको हाराहारीमा बनाउन सकिन्छ ।

देशका विभिन्न स्थानमा यी निर्माण सामग्रीको प्रयोग गरेर धेरै घर बनिसकेको अवस्था छ । ‘नेपालमा वि.सं. २०७२ सालकको भूकम्पपछि ईको प्यानलको माग वर्षेनी बढ्दो छ, नेपालमा पछिल्लो समय वैकल्पिक निर्माण सामग्रीको प्रयोग गरेर घर बनाउने चलने बढेको छ,’ उनले भने ।

आरसिसी घरको तुलनामा ईको प्यानबाट २०/३० प्रतिशत कम लागतमा नै घर तयार गर्न सकिने दुवालले बताए । उनका अनुसार ईको प्यानलका सामग्री प्रयोग गरेर २ तल्लाको ४ वटा कोठा भएको छुट्टै बाथरूम र भान्सासहितको घर करिव २० लाख रुपैयाँको हाराहारीमा बनाउन सकिन्छ ।

घरको आकार स्वरुप तथा निर्माण सामग्रीको अवस्था हेरेर पनि घरको लागत निर्धारण गर्न सकिने उनको भनाइ छ । नेपाल ईको प्यानलले घरको ७० वर्षको वारेन्टी दिँदै आएको छ । स्थानीय तहबाट नक्सा पास गरी प्यानको घर बनाए बैंकले पनि सहजै फाइनान्स मिल्ने दुवालले बताए ।

‘ईको प्यानलको थर्मल इन्सुलेशन राम्रो भएकाले जस्तो सुकै ठाउँमा पनि यो सामग्री प्रयोग गरेर घर बनाउन सकिन्छ, यो नेपालको भौगोलिक अवस्था अनुसार उपयुक्त हुने भएकाले यो धेरैको रोजाइमा पर्छ,’ उनले भने । नेपाल ईको प्यानल वातावरणमैत्री लकुवा, भूकम्प प्रतिरोधात्मक निर्माण सामग्री हो ।

गोर्खा ईको प्यानल

नेपालमा गोर्खा ईको प्यानलले उत्पादन गर्दै आएका निर्माण सामग्री प्रयोग गरेर धेरै संरचनाहरू तयार भइसकेका छन् । विशेषगरी गाह्रो बनाउँदा ईंटाको विकल्पमा आएको उक्त ईको प्यानलको प्रयोगबाट कम लागतमै घर बनाउन सकिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार परम्परागत गाह्रो भन्दा यो प्यानल प्रयोग गरी घर बनाउँदा १५ देखि २० प्रतिशतसम्म सस्तो हुन्छ ।

परम्परागत गाह्रो भन्दा गोर्खा ईको प्यानल प्रयोग गरी घर बनाउँदा १५ देखि २० प्रतिशतसम्म सस्तो हुन्छ ।

घरको गाह्रो मात्र नभई ठूला संरचना पनि यो प्यानल प्रयोग तयार भइरहेको गोर्खा ईको प्यानल कम्पनीका सीईओ सुरेश कवांले बताए । घरमा लाग्ने वा संरचनामा लाग्ने प्यानलका आधारमा पनि मूल्य निर्धारण हुने उनको भनाइ छ ।

नेपालमै उत्पादित गोरखा इको प्यानलको माग बजारमा बढ्दो रहेको कम्पनीले जनाएको छ । ईको प्यानलको प्रयोगले भूकम्प प्रतिरोधी घरलाई थप मजबुत बनाउन सकिने कवांले बताए ।

स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वाल बनाउनका लागि ईको प्यानल प्रयोग गर्न सकिन्छ । ठूला–ठूला अपार्टमेन्ट हाउजिंगमा पनि ईको प्यानलको प्रयोग हुँदै आएको कवांले बताए । ‘हामी निर्माण सामग्रीको उत्पादन, बिक्री साथै निर्माणको कार्य पनि गर्दै आएका छौं, यो प्यानलाई फलामको साथै सिमेन्टको पिलर राखेर पनि संरचना गर्न सकिन्छ, यी प्यानल प्रयोग गरेर घर कम लागतमै छिटाे निर्माण गर्न सकिने छ,’ उनले भने ।

उनका अनुसार सामान्य परिवारको लागि चाहिने ४ वटा कोठा भएको एउटा घर यो प्यालनको प्रयोग गरी १२/१३ लाख रुपैयाँमै घर बनाउन सकिने छ । गोर्खा ईको प्यानलले देशभरका १४ वटा डिलरमार्फत आफ्नो उत्पादन बिक्री गर्दै आएको छ ।

Logo