म सोलुखुम्बुको लुक्ला नजिकैको गाउँमा जन्मेकी व्यक्ति हुँ । यही ठाउँबाट सगरमाथालगायत अन्य हिमाल चढ्न जाने धेरै पर्यटकहरू आउजाउ गर्थे । मेरो बुबा पनि यही क्षेत्रमा गाइडका रूपमा सक्रिय हुनुहुन्थ्यो ।
बुबा र परिवारको संघर्षबाट मैले पनि हिमाली जीवनमा अभ्यस्त हुने अवसर पाएँ । गाउँको संघर्ष, हिमाली जनजीवन र पुस्तौनी पेशा सिक्दासिक्दै म स्वीट्जरल्याण्ड गएकी थिएँ । त्यहाँ रहँदा स्की खेल खेल्ने मौका पाएँ । स्की निकै चुनौतिपूर्ण खेल हो ।
त्यहाँ रहँदा युरोपका विभिन्न स्थानमा स्की गर्ने पहिलो नेपाली भएको पहिचान बनाएँ । त्यहाँका हिमालहरूमा स्कीको सम्बन्धी धेरै सुविधाहरू छन् । त्यहाँको आम्दानीको स्रोत नै स्की हो । स्कीको तालिम र सीप सिकाउने गरिन्छ । मैले पनि त्यहाँ धेरै सिक्ने मौका पाएँ ।
पछि म नेपाल फर्किएर आएँ । आफ्नो देश भनेको आफ्नो नै हुन्छ । केही नयाँ काम गर्ने सोचका साथ नेपाल फर्किएकी थिएँ । मलाई के लागिरहेको थियो भने नेपालमा हिमाल चढ्न र ट्रेकिङ् गर्न आउने काम मात्र भइरहेको छ । हिमालको सही सदुपयोग भएको छैन । हिमाललाई सम्मान गर्ने तरिका पनि भएको छैन । हिमाल चढेर धेरैले नाम, फेम कमाए तर साँच्चिकै देशले केही पाउन सकेको छैन ।
किनभने नेपाल एउटा खुला विश्वविद्यालय जस्तै हो । सबैजसो हिमाल हाम्रो देशमा छन् । बाहिर देशमा भन्दा धेरै अग्ला हिमालहरु पनि नेपालमा छन् । त्यस कारणले गर्दा नेपालमा पनि स्कीको मार्केट युरोपमा जस्तो बनाउन सकिन्छ । यसको सम्भावनाहरु धेरै ठाउँमा छ । तर रोडको सुविधा नभएको हुनाले अलिकति समस्या हुने गरेको छ ।
यसको साथै नेपालमा हिमालहरु चढ्नेमा मात्र सिमित छ । स्की गर्नुपर्यो भने युरोप नै जानुपर्ने र त्यो धेरै महंगो हुन्छ । एसियामा नै स्कीको विकास गर्नुपर्छ र गाइडहरुलाई पनि लाइसेन्स दिनुपर्छ भन्ने मेरो मान्यता हो । यही स्कीलाई नेपालमा ल्याउनुपर्छ भनेर हामीले नयाँ कामको प्रारम्भ गरेका थियौं । सुरुमा स्की नेपालमा ल्याउने उद्देश्य अनुरुप ‘नेपाल माउन्टेन एकेडेमी’को परिकल्पना गरेका हौंँ । म मात्र होइन हामी धेरै जनाको सहकार्यमा यसको सुरुवात भएको हो । धेरैजना विज्ञ र प्राज्ञहरुको सहयोगमा यसको प्रारम्भ भएको हो ।
स्की तालिम सुरु गर्ने उद्देश्य अनुरुप खोलिएको एकेडेमी यसको साथै पर्यटकको क्षेत्रमा स्नातक तह र मास्टर्स गर्न माउन्टेन एकेडेमीले धेरै मेहेनत गरेर यसको सुरुवात गरेको हो । एकेडेमीमा कार्यकारी निर्देशकको रुपमा नियुक्त भएर आउँदा आठ महिनादेखि भाडा नतिरेको, ६ महिनादेखि कर्मचारीको तलब नदिएको अवस्था थियो । यस्तो परिस्थितिमा मैंले जिम्मेवारी सम्हालेको थिए । तर विस्तारै सहजीकरण गर्दै एकेडेमीलाई एउटा उचाइमा पुर्याएकी हुँ ।
पद पाउनु मात्र ठूलो कुरा होइन, देशको लागि काम गर्ने मौका गुमाउनु हुँदैन भन्ने मान्यताले काम गरेको थिए । जिम्मेवारी पाएको दुई वर्षसम्म आफ्नै खर्चमा चलें । मेरो टिमले पनि सक्दो प्रयास गरेर सेलेबस तयार गरेका थियौं । त्यसपछि सेलेबसलाई बेलायतका एक विज्ञ वा प्राध्यापकलाई पठाएर थप प्रभावकारी बनाउने काम गरेका थियौं । उहाँले पनि हाम्रो सेलेबसलाई विश्वको विभिन्न आठवटा विश्वविद्यालयमा पठाएर सल्लाह, सुझावसहित नेपालमा पठाउनु भएको थियो । तीन महिनाभित्र नै त्यो सेलेबस नेपाल आएसकेको थियो ।
हिमाल सम्बन्धी अध्ययन गर्ने ठाउँ नेपाललाई नै बनाउनुपर्छ भनेर काम गरेका हौँ । तर त्यसबेला मलाई प्रोत्साहन गर्ने भन्दा पनि निरुत्साहित गर्ने कोशिस धेरै नै भयो । तर पनि देशको लागि केही राम्रो गर्दै छु भनेर डटेर लागेकी हुँ । सफलता हासिल गर्छु भनेर लागेको हुँ । सम्बन्धन लिने बेलामा पनि त्रिभुवन विश्वविद्यालयका सम्बन्धित हरेक टेबुल टेबुलमा पुगेर नेतृत्वहरुसँग कुरा गरेकी छु । धेरै पटक धाएकी छु र विषयबस्तुबारे बुझाएकी छु । एकेडेमी स्थापित गर्न धेरै पसिना बगाएको छु । तयार भएको सेलेबस पनि अनुमोदन गर्नको लागि कानून, पर्यटन, शिक्षा सबै मन्त्रालयमा दर्जन पटक धाएको छु । पछि राजपत्रमा सार्वजनिक भएपछि त्रिविले अनुमोदन गरेर यसलाई अगाडि बढाइएको थियो ।
आफ्ना धेरै महत्वपूर्ण कामहरु छाडेर एकेडेमीका लागि खर्चिएको थिएँ । राष्ट्रको लागि काम गर्न मौका पाएको बेलामा गर्नुपर्छ, देशको लागि केही गर्नुपर्छ भनेर खटिएको हुँ । किनभने खाने र लगाउने काम त पशुले पनि गर्छ । मरेर गएपछि आफ्नो सबैभन्दा मन परेका छोराछोरीहरु हुन्छन् । तिनीहरुलाई त सँगै लान पाइँदैन भने अरु के नै लानु छ र ?
मेरो कार्यकालमा इतिहासमै पहिलो पटक नेपालका निजामती कर्मचारीलाई हिमाल चढाउने काम भएको थियो । यसमा कति जनाको विरोध पनि आयो । तर मेरो बुझाई केहो भने नेपालमा हिमालहरु धेरै छन् तर निजामतीले चढ्न पाएका छैनन् । अरु देशको निजामतीले चढ्छन् । हाम्रो उद्देश्य पनि निजामतीलाई साथ दिनुपर्छ चढाउनुपर्छ भन्ने हो । जसका कारण उहाँहरुले हिमाल बुझनुहुन्छ, यसबारे कानुन बनाउँदा सहयोग हुन्छ र एकेडेमी सञ्चालनमा सहयोग पुग्छ भनेर यसको सुरुवात गरेका थियौ । त्यसबेला १५ जना कर्मचारीमा नौं जनाले हिमालको सफल आरोहण गर्नुभएको थियो ।
मेरो कार्यकालमा राम्रो गर्दागर्दै स्पष्टीकरण पनि नसोधी हाम्रो टिमलाई हटाएर नयाँ टिम ल्याइयो । यसमा आउने भन्दा पनि ल्याउनेको दोष थियो । हामी इमान्दार भएर काम गर्दागर्दै पनि जुन हिसाबले हटाउने काम भयो त्यसमा हाम्रो असन्तुष्टि छ । एकेडेमीलाई एउटा उचाइमा पुर्याउने सपनामाथि तुषारापात भयो । पदको केही लोभ होइन तर मेरै कार्यकालमा ठूलो र महत्वकांक्षी प्रोजेक्ट चलिरहेको थियो । त्यसलाई सफल बनाउने हाम्रो ध्यान थियो । तर टिमलाई नै हटाएपछि अन्तर्राष्ट्रिय रुपमा नै बद्नाम भयो कि भन्ने चिन्ता हो ।
त्यसबेला पर्यटनमन्त्री खड्क बहादुर विश्वकर्मा, हुनुहुन्थ्यो । उहाँले नै हामीलाई हटाउनुभयो । तर पछि फेरि उहाँले नै मलाई के भन्नुभयो भने ‘तपाईले एकदमै राम्रो काम गर्नुभएको रहेछ । सबैबाट दबाब आयो, तपाइँलाई नै पुनःनियुक्ति गर्छु । अब चार वर्षका लागि बस्नुपर्छ भन्नुभयो । तर मैले चार बर्ष चाहिदैन भने । बाँकी रहेको दुई वर्ष काम गर्ने मौका दिनुहोस भनेको थिए ।’ यसरी धेरै दुःख र संघर्ष गरेर एकेडेमीको स्थापना गरेका हौं । मेरो नेतृत्वको टिमले धेरै कष्ट सहेको छ । दुःख गरेको छ । यस्तो दुःख र मेहेनत गरेकालाई सरकारले साथ दिनुपर्ने बेला उल्टै अन्याय गरेको धेरै पटक महसुश गरेको छु । त्यसबेला नेपालको न्यायलय पनि अन्यायलय भएको हो कि जस्तो महशुस भयो । मन्त्रीहरु नै विरोधमा लागेको सुन्दा र अनुभुत गर्दा ज्यादै मन अमिलो हुन्छ । एउटा व्यक्तिले मात्र गरेर केही पनि हुदैँन, भनाई कसैले सुन्दैन् तर न्यायालयले त सबैको कुरा सुन्नुपर्ने थियो । त्यस्तो हामीले पाएनौं ।
हाम्रो पनि कमजोरी भयो होला त्यो आफ्नो ठाउँमा छ । तर मेरो भनाइ के हो भने संस्था महत्वपूर्ण हो, व्यक्ति परिवर्तन भइ रहन्छन् । संस्था वा एकेडेमीमा धेरै काम भइसकेको छ । हिमाल सम्बन्धि तालिमदेखि शिक्षाका महत्वपूर्ण कामहरु भएका छन् । हिमाल जस्तो संवेदनशील क्षेत्र पढेका विद्यार्थीहरुले भविष्यमा राम्रो काम गर्न सक्छन भन्ने लाग्छ । एकेडेमीमा अध्ययन गरेका अधिकांश विद्यार्थी बेरोजगार छन् जस्तो लाग्दैन । सरकारको निकायमा पनि मन्त्री र सचिव जस्तो उच्च पदमा बस्नेहरुले पनि हिमाललाई राम्ररी बुझेर जानुपर्छ जस्तो लाग्छ । अहिले भएको भन्दा पनि धेरै राम्रो परिणाम आउन सक्छ । मेरो चाहना पनि यही हो ।
विश्वमै पहिलो पटक यस्तो एकेडेमी स्थापना गरेका हौं । किनकी नेपाल आउनेहरुले हिमाल चढ्ने र ओर्लिने काम मात्र भएको छ । तर नेपाल त हिमाल अध्ययनको लाइब्रेरी वा विश्वविद्यालय हो । त्यसैले नेपाल हिमाल अध्ययनको हब बनाउन सकिन्छ । ट्रेकिङ गाइड संचालन गर्ने व्यवस्था गरेर एकेडेमीलाई थप उचाइमा पुर्याउने काम भएको थियो । यसलाई अझै एडभान्स बनाउन सकिन्छ । पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणामा अघि लैजानुपर्छ । संस्था नै कोल्याप्स बनाउने भन्दा पनि नयाँ कोर्षहरु बनाएर काम गर्नुपर्छ ।
विश्वकै उदाहरणीय अध्ययन केन्द्रका रुपमा एकेडेमीलाई विकास गर्न सक्ने संभावनाहरु प्रशस्त छन् । मन्त्री र कर्मचारी परिवर्तन हुनेवित्तिकै संघ संस्था कोल्याप्स गर्ने काम गर्नु हुँदैन । तर एकेडेमीसँग अर्को संस्था गाभेर अस्तित्व समाप्त पार्ने काम स्वीकार्न सकिँदैन । अहिलेका मन्त्री बद्री पाण्डेले एकेडेमीसँग अर्को संस्था गाभ्ने निर्णयलाई फिर्ता गराउनुभएकोप्रति अत्यन्तै खुशी छु । उहाँलाई धेरै धन्यवाद ।
[पर्वतारोही एवं लेखक लाक्पा फुटी शेर्पा पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा टोलीकी सहयात्री तथा नेपाल माउन्टेन एकेडेमीकी संस्थापक हुन् । उनका दुईवटा पुस्तक समेत प्रकाशित छन् ।]
प्रतिक्रिया