डाली र ताराखोलाको मकै कोशेली पाएपछि अध्यक्ष चन्द्रप्रसाद ढकाल खुसी, भने- यो निकै सराहनीय छ

डाली र ताराखोलाको मकै कोशेली पाएपछि अध्यक्ष चन्द्रप्रसाद ढकाल खुसी, भने- यो निकै सराहनीय छ

केन्द्रबिन्दु
70
Shares

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली । डालीभरि भुटेको सिरिम्ले मकै । मकै पनि जिल्लाको ताराखोलाका । शनिबार यहाँ आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएका बागलुङका रैथाने उत्पादन हुन् यी । स्थानीय उत्पादनको प्रवर्द्धन हेतु बागलुङ उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डाली र मकै प्रदान गरेको हो ।

सङ्घको ६०औँ वार्षिक साधारणसभा समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत अतिथिले खुसी र श्रद्धापूर्वक बागलुङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरे । मायाको चिनोमा आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा सङ्घले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिएको हो ।

त्यस क्रममा प्रमुख अतिथि ढकालले सङ्घले स्थानीय उत्पादनलाई प्राथमिकता दिएकामा प्रशन्नता व्यक्त गरे । “अतिथिलाई उपहारका रुपमा डाली र मकै दिनुभयो, खाजा पनि सेलरोटी र घरेलु अचार खुवाउनुभयो, यो निकै नै सराहनीय छ”, उनले भने, “यसले कृषि उपजका माध्यमबाट स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।”

उनले परम्परागत सीप र प्रविधिमा आधारित वस्तुको बजारीकरण गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने धारणा राखे ।

अध्यक्ष ढकालले पछिल्लो समय ठूला मेला, महोत्सव र समारोहमा पुग्ने अतिथिहरूलाई स्थानीय उत्पादन उपहारका रूपमा दिने प्रचलन बढेको बताए । “हामीकहाँ भएको मकै, भटमास, आलु, सिन्कीलगायतको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिनु जरुरी छ”, उनले भने ।

अध्यक्ष ढकालले आफू देशका विभिन्न भूभागमा पुग्दा स्थानीय उत्पादनलाई जोड दिन आग्रह गर्ने गरेको सुनाउँदै गृहजिल्ला बागलुङले त्यसप्रति देखाएको जागरुकता प्रशंसनीय रहेको बताए । “यसले जिल्लाको पहिचान पनि दिलाउँछ, स्थानीय उत्पादनप्रति सर्वसाधारणको चासो बढ्दै जान्छ”, उनले भने ।

सङ्घका अध्यक्ष नरेश कँडेलले स्थानीय उत्पादनको प्रवद्र्धन होस् भनेर अतिथि उपहारका लागि डाली र मकै छानिएको बताए । उनका अनुसार जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादित मकै उपहारका रुपमा अतिथिहरूलाई प्रदान गरिएको हो । ताराखोलालगायत यहाँका लेकाली भेगमा लगाइने रैथाने जातको मकै स्वादिष्ट र पौष्टिक मानिन्छ । यहाँ आउने पाहुनाले पछिल्लो समय ताराखोलाकै मकै र आलु अनि भाँगो र सिस्नोको धुलो खोज्ने गरेका छन् ।

यस्तै निगालोको चोयाबाट बन्ने डोका, डालाडाली, नाङ्ला आदिका लागि पनि ताराखोला, बडिगाडको जलजलालगायत उपल्लो ग्रामीण भेग बढी चिनिन्छन् । चैते दसैँलगायतका अवसरमा हुने मेला, महोत्सवमा ती ठाउँका किसान हप्तौँ दिन लगाएर डालाडाली र नाङ्ला बेच्न सदरमुकाम आइपुग्छन् । अध्यक्ष कँडेलले पछिल्लो समय ताराखोलाको मकै ‘ब्राण्ड’का रुपमा स्थापित भइसकेको बताए । “यहाँको सिरिम्ले मकै विदेशसमेत निर्यात हुँदै आएको छ, भुटेर खाँदा मकै ज्यादै स्वादिलो छ, आटोका रुपमा खाँदा पनि उत्तिकै रुचाइन्छ”, उनले भने, “पछिल्लो समय होटल, रेष्टुराँमा पनि भुटेको मकैको खपत बढ्दो छ ।”

गत पुसमा सञ्चालित बागलुङ महोत्सवमा पनि ताराखोलाको आलु, मकै, भाँगो, सिस्नोको धुलोलगायत स्थानीय उत्पादनले आकर्षण थपेका थिए । स्थानीय उत्पादनको व्यवसायीकरणका लागिसमेत सङ्घले किसान र व्यवसायीहरूलाई सहयोग गर्दै आएको अध्यक्ष कँडेलको भनाइ छ ।

Logo