कोशी प्रदेश सरकारले ट्रक पार्किङस्थल निर्माणका लागि छुट्यायो दुई करोड

कोशी प्रदेश सरकारले ट्रक पार्किङस्थल निर्माणका लागि छुट्यायो दुई करोड

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो । बिराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले आवश्यक बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो । सोही आग्रह बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पार्किङ स्थल संरचना निर्माणका लागि बजेट विनियोजन भएको छ ।

लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङ गरेवापत प्रति ट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति बिराटनगरका पूर्व अध्यक्ष मेघराज सिग्देलले जानकारी दिए । त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई दिनुपर्ने र ६० रुपैयाँले पार्किङ स्थलको व्यवस्थापन गरिने उनले बताए । पार्किङस्थल बुढीगंगा गाउँपालिकामा बन्ने भएको छ ।

पूर्व अध्यक्ष सिग्देलले ट्रक पार्किङमा समस्या भइरहेको अवस्थामा यसरी प्रदेश सरकारले बजेट विनियोजन गरेर पार्किङस्थल निर्माण गरिदिनु स्वागतयोग्य भएको बताए । उनले अन्य प्रदेश सरकारहरुले पनि ट्रक पार्किङस्थल निर्माणका लागि बजेट छट्याउनु पर्नेमा जोड दिए ।

Logo