कुन देशबाट कति आयात हुन्छ सेनिटरी प्याड ? भित्रियाे १ अर्बको डाइपर

कुन देशबाट कति आयात हुन्छ सेनिटरी प्याड ? भित्रियाे १ अर्बको डाइपर

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्ममा विभिन्न देशबाट २० करोड ११ लाख पिस सेनिटरी प्याड आयात भएर आएको छ । भन्सार विभागका अनुसार १ अर्ब २३ करोड ५७ लाख ८४ हजार रुपैयाँ बराबरको २० करोड ११ लाख १२ हजार ८५३ पिस सेनिटरी प्याड आयात भएको हो ।

उक्त मूल्यको सेनिटरी प्याड आयात हुँदा सरकारले २३ करोड २० लाख ४३ हजार रुपैयाँ राजश्व असुली गरेको विभागले जानकारी दिएको छ । स्वदेशमा प्याड उत्पादन गरी प्याडको आयात घटाउँदै जाने सरकारले लक्ष्य लिएता पनि यसको आयात तुलनात्मक रूपमा बृद्धि हुँदै गएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को सोही महिनासम्म ८२ करोड ३२ लाख ८७ हजार रुपैयाँ बराबरको प्याड आयात भएको थियो । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमै सेनिटरी प्याडको आयातमा ९० प्रतिशत छुट दिने घोषणा गरेसँग प्याड आयतमा अहिले सहजीकरण भएको पाइन्छ ।

सोही बजेट प्रस्तुत गर्न क्रममा शर्माले स्वदेशी कम्पनीले उत्पादन गर्ने कच्चा पदार्थ आयातमा भने १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने बताएका थिए । यसका साथै सो आर्थिक वर्षबाट सरकारी वा सार्वजनिक निकायले वितरण गर्ने सेनिटरी प्याड अनिवार्य रूपमा स्वदेशी हुनुपर्ने पनि उल्लेख गरिएको थियो । सरकारी वा सार्वजनिक निकायले वितरण गर्ने सेनिटरी प्याड अनिवार्य रूपमा स्वदेशी हुने बताइएता पनि कार्यान्वयन पाटो भने फितलो देखिँदै आएको छ ।

चालु आर्थिक वर्षमा भने ११ महिनासम्ममा भारत र चीनबाट प्याडको सबै भन्दा बढी आयात भएको विभागले बताएको छ । भारतबाट ८९ करोड ४५ लाख ८ हजार मूल्य बराबरको १० करोड ५ लाख ८ हजार ७०६ पिस प्याड भएको विभागको तथ्याङकमा उल्लेख छ । यसै गरी चीनबाट विभागका अनुसार १० करोड ५५ लाख ८९ हजार १५ पिस प्याड जेठसम्ममा भित्रिएको छ ।

३४ करोड ११ लाख ५ हजार मूल्यका उक्त पिस प्याड चीनबाट जेठसम्ममा भित्रिदा अस्ट्रेलियाबाट १७, बंगलादेश १, डेनमार्क ४, हंगकंग ४१ कोरिया १, कुवेत १, नेदरल्याण्ड्स १२ र पाकिस्तान ३९ हजार पिस प्याडको आयात भएको छ । यस्तै, कतारबाट १०, युगान्डाबाट १२, युनाइटेड अरब इमिरेट्स २, युनाइटेड किंगडम ६ हजार १ सय २२ र संयुक्त राज्य अमेरिका ७ वटा प्याड आयात भएको विभागले जानकारी दिएको छ ।

प्याड आयात मात्र नभई नेपालबाट पनि विदेशमा प्याड निर्यात हुँदै आएको विभागको भनाइ छ । भन्सार विभागको अनुसार नेपालबाट ३९ करोड ५७ लाख ५१ हजार रुपैयाँको बराबरको प्याड चालु आर्थिक वर्षको जेठ महिनासम्ममा भएको छ । उक्त मूल्य बराबरको १४ करोड ६० लाख ७८ हजार ५३ पिस प्याडको निर्यात भएको हो ।

१ अर्बको डाइपर आयात

अहिले अधिकांश बच्चा बच्चीलाई डाइपर प्रयोग गरिन्छ । डाइपर माग र प्रयोग बढ्दै जाँदा आयात पनि बढ्दै गएको हो । भन्सार विभागका अनुसार चालुका आर्थिक वर्षको जेठसम्म १२ करोड ३० लाख ९१ हजार १३ पिस डाइपर विभिन्न देशबाट आयात भएको छ । १ अर्ब ९० लाख ६० हजार ९६ रुपैयाँ बराबरको उक्त डाइपर आयात हुँदा सरकारले ५६ करोड ६० लाख ७ हजार रुपैयाँ राजश्व असुली गरेको विभागले बताएको छ ।

नेपालमा डाइपरका आयात मात्र हुँदैन, निर्यात पनि हुँदै आएको छ । आयातको तुलनामा निर्यात कमी छदैछ । यद्यपि चालु आर्थिक वर्षको ११ महिनासम्ममा नेपालबाट २७ करोड ८६ लाख १० हजार रुपैयाँको डाइपर निर्यात भएको छ । विभागका अनुसार उक्त मूल्य बराबरको ४ करोड ४१ लाख ४४ हजार ६७१ पिस डाइपर निर्यात भएको हो । जसमध्ये सबै भन्दा बढी डाइपर निर्यात भारतमा हुने गरेको विभागको तथ्याङकले देखाएको छ ।

Skip This
Logo