१७ खर्बको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब घाटा

१७ खर्बको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब घाटा

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । गत आर्थिक वर्ष २०८०। ८१ मा नेपालले कूल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा बेहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु आयात गर्दा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको मात्रै निर्यात गरेको देखिएको हो ।

विभागको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा आयात, निर्यात र समग्र वैदेशिक व्यापार घटेको छ । अघिल्लो आव २०७९ । ८० मा नेपालले रु १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख बराबरको आयात र १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख बराबरको निर्यात गर्दा कूल वैदेशिक व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख पुगेको थियो ।

अघिल्लो आवको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड ९१ लाख बराबर थियो । अघिल्लो आवको तुलनामा गत आवमा आयात १ दशमलव १६, निर्यात ३ दशमलव ०३, समग्र वैदेशिक व्यापार १ दशमलव ३३ र वैदेशिक व्यापार घाटा शून्य दशमलव ९६ प्रतिशतले घटेको हो । गत आवको आयात–निर्यात अनुपात १० दशमलव ४५ प्रतिशत बराबर छ । गत आवमा सबैभन्दा धेरै भारतसँग व्यापार घाटा देखिएको छ । भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोडको वस्तु आयात हुँदा १ खर्ब ३ अर्ब १७ करोड बराबर मात्रै निर्यात भएको छ । जसबाट भारतसँगको मात्र कूल व्यापार घाटा ८ खर्ब ९३ अर्ब ५० करोड बराबर छ ।

नेपालको अर्को छिमेकी मुलुक चीनसँग २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख बराबर व्यापार घाटा छ । चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड बराबरको वस्तु आयात हुँदा २५ अर्ब ८८ करोड बराबरको मात्रै निर्यात भएको हो । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकहरूमा संयुक्त अरब ईमिरेट्स तेस्रो, युक्रेन चौथो र मलेसिया पाँचौँं स्थानमा छ ।

व्यापार नाफाको अवस्था हेर्दा नेपालले डेनमार्कसँगको व्यापारमा सबैभन्दा बढी नाफा देखिएको छ । गत आवमा नेपालले डेनमार्कबाट रु ३५ करोड ४५ लाख बराबरको वस्तु आयात गर्दा रु ८२ करोड २१ लाख बराबरको निर्यात गरेको छ । जसबाट ४६ करोड ७५ लाख व्यापार नाफा देखिएको हो ।

बढी व्यापार नाफा देखिएका मुलुकमा अफगानिस्तान दोस्रो स्थानमा छ । गत आवमा नेपालले अफगानिस्तानबाट २ करोड ७६ लाख बराबरको वस्तु आयात गर्दा ४९ करोड ३६ लाख बराबरको निर्यात गरेको छ । जसबाट अफगानिस्तानसँग ४६ करोड ६० लाख बराबरको व्यापार नाफा भएको छ ।

गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्याङ्कअनुसार गत आवमा १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख बराबरको डिजेल, ६८ अर्ब १० करोड २० लाखको पेट्रोल र रु ५५ अर्ब ६१ करोड ८४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । ३९ अर्ब ३ करोड ४३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ । स्मार्टफोनमात्र २८ अर्ब ६६ करोड ६२ लाख बराबरको आयात भएको छ ।

त्यस्तै, २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट, अलैँची, फलाम तथा स्टिलजन्य, जुसलगायत वस्तु छन् । गत आवमा नेपालले सबैभन्दा धेरै १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र ७ अर्ब ९३ करोड ८१ लाख बराबरको अलैँची निर्यात गरेको छ ।

Logo