भृकुटीमण्डपमा घरायसी विद्युतीय सामग्रीसम्बन्धी तेस्रो अन्तरराष्ट्रिय प्रदर्शनी हुँदै

भृकुटीमण्डपमा घरायसी विद्युतीय सामग्रीसम्बन्धी तेस्रो अन्तरराष्ट्रिय प्रदर्शनी हुँदै

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा घरायसी विद्युतीय सामग्रीसम्बन्धी तेस्रो अन्तरराष्ट्रिय प्रदर्शनी हुने भएको छ । मीडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इण्डिया प्रालिको संयुक्त आयोजनामा भाद्र २१, २२ र २३ गते उक्त कार्यक्रम हुन लागेको हो ।

तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेससम्बन्धी अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुन गइरहेको आयोजकले जनाएको छ ।

तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने छन् । यस प्रदर्शनीमा उच्च गुणस्तरका अत्याधुनिक एवं नवीनतम् प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ ।

आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलीकरण गर्दै ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्याधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना हुने छ ।

नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तरराष्ट्रिय प्रदर्शनीअन्तर्गत दशैँको अवसर पारेर ग्राहकहरूले विभिन्न कम्पनीका विद्युतीय सामाग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान खरिद गर्न पाउने हुँदा यस प्रदर्शनीमा आउने सबैले लाभ उठाउन सक्ने आयोजकले बताएको छ ।

Logo