ग्लोबल आईएमई बैंक र गल्फ एक्सचेञ्जबीच सम्झौताः कतारबाट नेपालमा रेमिटेन्स पठाउन सहज

ग्लोबल आईएमई बैंक र गल्फ एक्सचेञ्जबीच सम्झौताः कतारबाट नेपालमा रेमिटेन्स पठाउन सहज

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच सम्झौता भएको छ । कतारबाट सहज रूपमा नेपालमा रेमिटेन्स पठाउनेसम्बन्धमा उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् ।

यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपालभर रहेका आईएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ ।

साथै, सम्झौताअनुसार कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंक तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १ हजार १ सयभन्दा बढी सेवा केन्द्रहरू छन् । जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायतका अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

Logo