विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाव

विद्युतीय व्यापार विधेयक चाँडो पारित गर्न मन्त्रीको दबाव

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक २०८० छिटो पारित गर्न आग्रह गरेका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँगको छलफल उनले यो विधेयक पारित भए ई–कमर्शबाट सञ्चालन हुने व्यापारमा सहजता आउने भन्दै छिटो पारित गर्न समितिलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘एक साताभित्र साझा निष्कर्षमा पुगेर संशोधनलाई समेत समेट्ने गरी एउटा निष्कर्षमा पुग्न सकिन्छ । त्यसैले विधेयकलाई पारित गरौँ । विधेयक पारित भएपछि उत्साह पैदा हुनेछ । ई–कमर्शबाट सञ्चालन हुने व्यापार कारोबारहरूलाई नियमन गर्ने कुरा, यसलाई सञ्चालन गर्ने कुरामा सहजता हुन्छ । यसबाट सरकारको पनि विजिनेस बढ्ने छ ।’

उनले संशोधन प्रस्तावहरूको केही महत्त्वपूर्ण दफाहरूमा मन्त्रालयले पनि आवश्यक तयारी गर्ने भन्दै सभापतिले दलगत रूपमा संशोधनलाई निष्कर्षमा पु र्‍याउने हो भने पनि मन्त्रालय तयार रहेको बताए ।

उनले भने, ‘आएको संशोधन प्रस्तावहरुको छलफलबाट अगाडि बढाएर संशोधनका केही महत्त्वपूर्ण दफाहरुमा मन्त्रालयले पनि आवश्यक तयारी गर्नेछ । समितिको तर्फबाट सभापतिले दलगत रूपमा संशोधनकर्ताहरूको प्रतिनिधित्व गर्ने गरी छलफल र संशोधनलाई निष्कर्षमा पुर्‍याउने हो भने पनि मन्त्रालय तयार छ ।’

यस्तै, उनले संसद्ले विजिनेस नपाएको बेलामा समितिहरूमा धेरै विधेयकहरू छलफलमा रहेको भन्दै कानूनको अभावले प्रभावित भएको कामहरूलाई यतिबेला निष्कर्ष दिन र सरकारलाई पनि प्रभावकारी बनाउन सकिने बताए ।

उनले भने, ‘संसदले विजिनेस नपाएको बेलामा समितिहरूमा धेरै विधेयकहरू छलफलमा छन् । अति आवश्यक कानूनहरू संविधान संशोधनका लागि पनि आवश्यक छन् । त्यसैले ऐनहरूबाट संविधान कार्यान्वयनमा बल पुग्छ । यतिबेला सबैले बढी उत्सुकता देखाएर संसद्लाई पनि विजिनेस दिने र कानून अभावले प्रभावित भएको थुप्रै कामहरू यतिबेला निष्कर्ष दिन सकिन्छ । सरकारलाई पनि प्रभावकारी बनाउन सकिन्छ ।’

Logo