बैंक खातामै घुस जम्मा गर्न लगाउने हाकिम

बैंक खातामै घुस जम्मा गर्न लगाउने हाकिम

केन्द्रबिन्दु
42
Shares

सिरहा । सिरहाका एक जना सरकारी अधिकारीले घुस र कमिसनवापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका छन् । औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत झाले एक दुई जनासँग मात्र होइन दर्जनौँ कर्मचारी र स्वयं गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पनि कमिसनवापतको रकम पहिले नै उनको बैंक खातामा जम्मा गर्न लगाएर मात्र भुक्तानीको चेकमा हस्ताक्षर गरिदिएका छन् ।

आर्थिक वर्षको अन्त्य गत असार २५ गतेदेखि साउनको ८ गतेसम्ममा प्रमुख प्रशासकीय अधिकृत झाको विभिन्न बैंक खातामा कमिसन र घुसको १० लाखभन्दा बढी रकम जम्मा भएको छ । लगभग १० लाखजति उनले नगदै पनि बुझिलिएका छन् ।

औरही पालिकामा कार्यरत वन व्यवस्थापन अधिकृत सुशिल यादवसँग प्रमुख प्रशासकीय अधिकृत झाले २१ हजार कमिसन लिए । वन अधिकृत यादव भन्छन,“समृद्धिको लागि वन परियोजना एकाइमा म कार्यरत छु । जनतालाई भुक्तानी नदिँदा मेरो खप्पर फुटाउने र कमिसन नदिए हाकिम झाले चेकमा हस्ताक्षर नगरिदिने । ८८ हजारको चेक लिन बाध्य भएर नगद १५ हजार दिएँ तर उनले मानेनन् । २१ हजार लिएरै छाडेँ । मेरो बैंक खाताबाट उनको खातामा ६ हजार ट्रान्सफर गरिदिएँ पछि बल्ल चेकमा सही गरिदिए । उनले भने गत साउन ७ गते राष्ट्रिय वाणिज्य बैंकमा रहेको मेरो खाताबाट उनको सिद्धार्थ बैंकमा रहेको खाता नं. ×××××१८३८०९ मा ६ हजार रकम पठाएँ । ”

वन अधिकृत यादव भन्छन् , “मेरो भत्तावापतको रकमको पनि चेक काटिएको थियो । तर त्यो चेकमा सही गर्न ५० प्रतिशत कमिसन मागेपछि मैले दिन मानिन् । प्रमुख प्रशासकीय अधिकृत झाले चेकमा सही गरिदिएनन् । मेरो भत्ता डुब्यो ।” यादवले भने, ओभरसियर मनोजकुमार यादवले त नगद १ लाख बुझाएपछि उनको सुपरभिजनमा रहेका योजनाहरूको भुक्तानी चेकमा हस्ताक्षर गरिदिए । यादव भन्छन्, म अख्तियारमा गएर पनि यति कुरा बयान दिन तयार छु । कारवाहीमा परे पनि सहन्छु । उनले थपे घुस लिन्या मात्र देशको शत्रु हो । घुस दिन्या त विवश जनता हुन् ।

औरहीकै प्रतापकुमार यादवले रातको १ बजे ९८××७०२४९५ नं. बाट ईसेवामार्फत रुपैयाँ १२ हजार झाको ईसेवामा रकम हस्तान्तरण गरेपछि उनको चेकमा हस्ताक्षर गरियो । रमानन्द यादवले पाउने भुक्तानीको ५ वटा चेक काटिएको थियो । उनले कमिसन नदिने भनेपछि प्रमुख प्रशासकीय अधिकृत झाले उनकै अगाडि ५ वटै चेक च्यात्तचुत्त पारेर फालिदिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत झालाई कमिसन बुझाउनेहरूमा सबइन्जिनियर आनन्द यादव, इन्जिनियर दीपेन्द्र यादव, सबइन्जिनियर वीरेन्द्रकुमार सिंह, इन्जिनियर सुरेन्द्रकुमार यादव र गाउँपालिका अध्यक्ष शिवजी यादवका छोरा रुकेश यादव पनि छन् ।

उनीहरूले न्युनतम ५१ हजारदेखि ३ लाखसम्म प्रमुख प्रशासकीय अधिकृत झाको बैंक खातामा रकम जम्मा गरिदिएका हुन् । इन्जिनियरहरूले आ–आफ्नो जिम्मामा रहेको साइटका उपभोक्ता समितिबाट घुस र कमिसनको रकम उठाएर झालाई बुझाएका हुन् ।

जसको भुक्तानी लिनुपर्ने थियो उनीहरू सबै कमिसन रकम बोकेर जनकपुर जानुपरेको र उनले त्यहाँ पालिकाले भाडा तिर्ने गरी गोप्य रूपमा खडा गरेको सेटलाइट कार्यालयमा बसेर कमिसन बुझ्दै चेक दिँदै गरेका थिए ।

सिरहा क्याम्पसका स्ववियु सभापति दीपेन्द्रकुमार यादव भन्छन् , “पालिका अध्यक्ष यादव र लेखापाल यादवले प्रमुख प्रशासकीय अधिकृत झालाई छल्न खोजेका थिए । तर चलाख झालाई कागताली पर्‍यो । झाले दुबै जनालाई थाङ्नामा सुताए । अध्यक्ष यादव र लेखापाल यादव झाको अगाडि जुठो लोटाएको गोबर झै भए । जनकपुर बसेर सम्पूर्ण कमिसन रकम असुले छि एक दिन अचानक पालिकामा आएर हतारहतार हाजिरी गरेर फेरि जनकपुर गए । झा अझैसम्म फर्केर पालिका आएका छैनन् । सायद उनी आउँदैनन् पनि । ”

घटना विवरणअनुसार गत असार २४ गते राति औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र लेखापाल देवेन्द्र यादव पालिका भवन छोडेर सदरमुकामस्थित कुनै अज्ञात स्थलमा बसेर चेक काट्न थाले । पालिका अध्यक्ष र लेखापालले दुबै जनाले मोवाइलको स्वीच अफ गरिदिए । प्रमुख प्रशासकीय अधिकृत झाले उनीहरू दुबै जनासँग सम्पर्क गर्न खोजे तर असार २५ गते दिउँसो मात्र सम्पर्क हुनसक्यो । आफूलाई थाहै नदिई अज्ञात स्थलमा गएर अध्यक्ष र लेखापालले मनमौजी भुक्तानीको चेक काटेको भन्दै प्रमुख प्रशासकीय अधिकृत झा रिसाएर जनकपुरस्थित आफ्नो घर गएर बसिदिए ।

झा भन्छन् , “म प्रमुख प्रशासकीय अधिकृत हुँ । मैले टिप्पणी सदर गरेर भुक्तानी आदेश दिने र चेकमा हस्ताक्षर गर्ने अधिकार मेरो हो । अनि मलाई नै जानकारी नदिई अज्ञात स्थलमा गएर मनमौजी चेक काटेकोले म पालिका छोडेर घर आएँ । मैले भनिदिएँ, ल लेखापालको एकल हस्ताक्षरयुक्त चेकबाट भुक्तानी लिनुस् । म टिप्पणी पनि सदर गर्दिनँ । ”

प्रमुख प्रशासकीय अधिकृत रिसाएर घर गइदिएपछि पालिका अध्यक्ष यादव र लेखापाल यादव परिबन्धमा परे । टिप्पणी सदर नगराइ चेक बनाइएको छ । एकल हस्ताक्षरबाट चेक साटिँदैन । यता भुक्तानीको चेक लिन उपभोक्ता समिति, ठेकेदारहरू र सप्लायर्सहरू दिनका दिन पालिका घेरेर बसेका छन् ।

पालिका अध्यक्ष यादव भन्छन् , “हामी त गलपासोमा परे जस्तै भयौँ । भिडमा चेक काट्न मुस्किल हुन्छ भनेर एकान्तमा गएका थियौँ । तर प्रमुख प्रशासकीय अधिकृत झाले अत्तो थापेर हामीलाई परिबन्माध पारे । यता जनताले पालिका घेरा हालेका छन् । उता हाकिम झा पालिका आउन मान्दैनन् र चेकमा हस्ताक्षर गर्न मान्दैनन् ।’’ अध्यक्ष यादव भन्छन् – “त्यतिबेला हाम्रो अवस्था गदहालाई बाउ भन्नु परे पनि स्वीकार गर्नुपर्ने थियो । हामी विलखबन्दमा परेका थियौँ । हामीले जनकपुर गएर प्रमुख प्रशासकीय अधिकृत झासँग वार्ता गर्‍यौँ । उनको हरेक शर्त मान्यौँ । त्यसपछि पनि उनी पालिका आउन मानेनन् । जनकपुरमै बसेर चेकमा हस्ताक्षर गरिदिने सहमति जनाए । हामीले मान्नै पर्‍यो । सबै फाइल र चेक बोकेर जनकपुर गयौँ । उनले भनेअनुसार शर्त पूरा गरेर चेकमा हस्ताक्षर गरायौँ । ”

औरही पालिकामा कार्यरत एक इन्जिनियरले नाम उल्लेख नगर्ने शर्तमा बताएअनुसार प्रमुख प्रशासकीय अधिकृत झाले हरेक चेकको २० प्रतिशत रकम नगद वा बैंक खातामा जम्मा गरेपछि टिप्पणी सदर गरेर त्यस–त्यस चेकमा हस्ताक्षर गरिदिए । पालिका अध्यक्ष यादव र लेखापाल यादवको बठ्याइँ प्रमुख प्रशासकीय अधिकृत झाको अगाडि लम्पसार पर्‍यो । दुबैलाई कक्र्याएर घर बसी–बसी २० लाखभन्दा अधिक कमिसन कुम्ल्याए ।

स्थानीय पत्रकार सन्तोष यादव भन्छन्, ‘घुस र कमिसन लिएको धेरै घटनाको समाचार लेखियो तर यसरी बैंक खातामै हाकाहाकी घुस र कमिसनको रकम जम्मा गर्न लगाउने दुस्साहास गर्ने पहिलो सरकारी अधिकारी देखियो । औरही पालिकाका आधा दर्जन कर्मचारी र स्वयं पालिका अध्यक्षले छोरामार्फत ईसेवा र मोवाइल बैंकिङ्गबाट झाको खातामा रकम जम्मा गरिदिएका छन् ।’ पत्रकार यादवले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको यस घटनातर्फ ध्यानआकृष्ट गराउँदै छानबिन गर्न माग गरेका छन् । पत्रकार यादव भन्छन्, ‘औरहीका सबै कर्मचारीको बैंक खाता र प्रमुख प्रशासकीय अधिकृत झाको सबै बैंक खाताको छानबिन हुनुपर्छ ।’

यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झाको प्रतिक्रिया माग्दा उनले बैंक खातामा रकम जम्मा गर्न लगाएको स्वीकार गरे । उनले भने , “मैले सापटी दिएको रकम फिर्ता लिएको हुँ , घुस र कमिसन लिएको होइन ।”

आर्थिक वर्षको अन्त्यमा अर्थात् असार २८ गतेदेखि साउनको ८ गतेसम्म आधा दर्जन व्यक्तिसँग कैफियत महलमा सापटी फिर्ता लेख्न लगाएर रकम जम्मा गराउनु घुस वा कमिसन होइन भनेर प्रमाणित गर्न सक्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने, “केही फरक पर्दैन । छानबिन गर्नेले गरोस् । परेको बेहोर्न तयार छु ।”

कुन कुन मितिमा क–कसलाई कति कति रकम सापटी दिनुभएको थियो ? सापटी दिँदा बैंकमार्फत नै दिनुभएको थियो त ? भन्ने प्रश्नमा झाले प्रतिप्रश्न गर्दै भने , “त्यो मेरो व्यक्तिगत लेनदेन तपाईँलाई किन भन्ने ?”

Logo