दुई करोड बीमा दाबी गर्न आफ्नै पसलमा आगो लगाउने सञ्चालकसहित दुई जना पक्राउ

दुई करोड बीमा दाबी गर्न आफ्नै पसलमा आगो लगाउने सञ्चालकसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
714
Shares

काठमाडौँ । बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका ६ नारेश्वर चोकमा रहेको मुक्तिनाथ शपिङ सेन्टरका सञ्चालक स्याङ्जा आँधीखोला ४ स्थायी घर भएका सुजन गहतराज र उनका साथी पवन नेपाललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार दुबै जनाको संलग्नतामा योजना भएको खुलेको छ ।

साउन १६ गते बुधबार बिहान अन्दाजी दुई बजेतिर पोखराको मुख्य बजार न्यूरोडस्थित मुक्तिनाथ शपिङ सेन्टरमा भिषण आगो लागेको थियो । उक्त आगो करिब एक घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो । आगोले गहतराजले सञ्चालन गरेको मार्ट पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।

तर घटना भएको चार दिनपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुई करोड रुपैयाँ बीमा दाबी रकम लिन आफ्नै पसलमा आगो लगाएको प्रमाण फेला परेपछि प्रहरीले पसल सञ्जालक गहतराजसहित दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माका अनुसार पसल सञ्चालक गहतराजले आगो लागेकै भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा बीमा दाबी भुक्तानीको प्रक्रिया पूरा गर्न प्रहरी प्रतिवेदन माग गर्दै निवेदन दर्ता गराएका थिए । तर प्रहरीले घटना शंकास्पद देखेपछि अनुसन्धान थालेको थियो । प्रहरीले छानबिनका क्रममा पसलमा आगो लगाउने कार्यमा सञ्चालक स्वयं संलग्न रहेको सिसीटिभी फुटेज समेत भेटिएपछि उनीहरूलाई पक्राउ गरेको हो ।

सुजनले गत असार १५ गते हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको न्यूरोड पोखरा शाखाबाट बीमा गरेको भेटिएको छ । जिप्रका कास्कीका अनुसार पसल सञ्चालक गहतराजले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा दुई करोड १० लाख रुपैयाँको बीमा गरेका थिए । बीमा कम्पनीबाट बीमा दाबी भुक्तानी लिने उद्देश्यले आगो लगाउन पाएमा बीमा दाबी भुक्तानी लिएर आफ्नो सबै काम र समस्याहरू सल्टाउने उपाय निकालेको प्रहरीले बताएको छ । यसको लागि उनले पोखरा १७ बिरौटा बस्ने पवन नेपाललाई प्रयोग गरेका थिए ।

Logo