रामेछापका किसानले मेवाको जुस उत्पादन गर्ने

रामेछापका किसानले मेवाको जुस उत्पादन गर्ने

केन्द्रबिन्दु
28
Shares

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेका किसानहरू व्यावसायिक मेवा खेतीपछि मेवालगायतका फलफूलको जुस उत्पादनको अभियानमा जुटेका छन् ।

गागलको टीएमजी एग्रो समूहका २० जना किसान सो अभियानमा लागेका हुन् । अभियानमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले सहयोग गरेको छ ।

आयोजनाले १ करोड ४ लाख ८१ हजारको योजना सञ्चालनको लागि किसानहरूलाई ३९ लाख ९९ हजार अनुदान सहयोग गर्ने भएको छ ।

किसानले लगाएको मेवालगायतका फलफूल प्रशोधन भवन निर्माण, उपकरण खरीद, थोपा सिँचाइ र मेवा रोप्नका लागि आयोजनाले सहयोग गर्न लागेको हो ।

स्थानीय २० जना किसान मिलेर खाँडादेवी–८ को गागालका साथै उदयपुरको कटारी, काभ्रेको पाँचखाल तथा दाङमा समेत सोही समूहमार्फत मेवा खेती लगाएका छन् ।

अहिले गागलमा ३५ रोपनी बढी जमिनमा मेवा खेती भइरहेको छ । यस वर्ष सो क्षेत्रमा थप बिरुवा पनि लगाइएको छ । त्यस्तै कटारीमा १५ रोपनी, पाँचखालमा १४ रोपनी र दाङमा २० रोपनी जमिनमा मेवा लगाइएको छ । पाँचखालमा खेतीको क्षेत्रफल बढाएर १ सय ५० रोपनीमा लगाउने तयारी भइरहेको समूहका सदस्य विजयकुमार लामाले बताए ।

मेवा प्रशोधनको लागि भवन निर्माणको काम सुरु भइसकेको छ । निर्माणको काम सकिने बित्तिकै प्रशोधन गर्ने मेसिन जोडेर जुस उत्पादनको काम सुरु हुनेछ । गागलमा पहिलो पटक दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका जनकलाल तामाङले व्यावसायिक रूपमा मेवा खेती सुरु गरेका थिए । तामाङले लगाएको मेवाबाट राम्रो उत्पादन भएपछि अन्य स्थानीय पनि त्यसमा आकर्षित भएका हुन् ।

Logo