प्रशासनको चुहिने प्वाल टाल्दै लक्ष्यअनुसारको राजश्व उठाउँछुः अर्थमन्त्री पौडेल

प्रशासनको चुहिने प्वाल टाल्दै लक्ष्यअनुसारको राजश्व उठाउँछुः अर्थमन्त्री पौडेल

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा)सँग छलफल गर्दै मन्त्री पौडेलले राजश्व संकलनमा रहेका त्रुटिहरू सुधार गर्न र नयाँ लक्ष्य हाँसिल गर्न कडा मेहनतको आवश्यकता रहेको उल्लेख गरे ।

‘अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पूरा गर्न कडा मेहनतको आवश्यकता छ । यहाँ सबै प्रकारका त्रुटिहरू, कमिकमजोरीहरू छन् र त्यसलाई सच्चाउनुपर्ने छ,’ अर्थमन्त्री पौडेलले भने ।

विगतमा राजश्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता रहेको पौडेलको भनाइ छ ।
अन्तराष्ट्रिय परिस्थिति, क्षेत्रिय तथा राष्ट्रिय परिस्थितिको प्रभाव, र समग्र माग तथा उत्पादनमा आएको न्यूनताको प्रभावले रोजगार र उपभोगमा असर परिरहेको छ ।

आयात–निर्यात र उत्पादनमा पनि कमि आएकोले यसलाई ध्यानमा राख्दै समग्र माग, रोजगारी, उत्पादन, र उत्पादकत्व बढाउन प्रभावकारी कदम उठाउनुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री पौडेलले विगतमा करका दरहरू हेरफेर गर्दा त्यसको प्रभाव राजश्व संकलनमा के कस्तो परेको हो भनी अध्ययन अनुसन्धान गरेर समीक्षा गर्ने योजना सुनाए । करका दरहरू परिवर्तन गर्दा परिपक्कता आवश्यक रहेको उनले बताए ।

‘राजश्व प्रशासनको प्रभावकारी परिचालन गर्दै, राजश्व प्रशासनलाई अनुशासित बनाउँदै, सबै प्रकारका लिकेज र सिकेजहरूलाई टाल्दै, यो अवस्थामा गर्न सकिने अधिकतम राजश्व संकलन गर्ने योजना छ । एकतर्फ राजश्व प्रशासनलाई अनुशासित बनाउने, लक्ष्य पूरा गर्न सक्नेगरी परिचालन गर्ने, चुहावटलाई नियन्त्रण गर्ने र अर्कोतर्फ व्यावसायीहरूलाई उत्पादन गरी मुनाफाबाट कर तिरी सम्मानित नागरिक बनाउने विषयलाई समानान्तर लैजान खोजिरहेका छौँ,’ उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलको योजनाले राजश्व संकलनलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई स्थिर राख्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । उनले पुजीँबजारलाई वास्तवमै अर्थतन्त्रको ऐनाको संज्ञा दिँदै सरकार पुजीँबजारको विकासको सन्दर्भमा पारदर्शी र परिपक्क ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Logo