आर्थिक मन्दीको असरः म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

आर्थिक मन्दीको असरः म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो

केन्द्रबिन्दु
28
Shares

म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९-८० को तुलनामा २०८०-८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।

आव २०८०-८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८०-८१ मा ३१ उद्योग र ५३ व्यावसायिक फर्म खारेज भएका हुन् । आव २०७९-८० मा १४ उद्योग र २९ व्यवसायिक फर्म खारेज भएका थिए । सो अवधिमा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यावसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषानाथ शर्माले बताए ।

आव २०७७-७८ मा सात सय ६२, २०७८-७९ मा पाँच सय ७० र २०७९-८० मा तीन सय १७ वटा उद्योग र व्यवसायिक फर्म दर्ता भएका थिए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारीपछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायीहरू विदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताए ।

“व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिडपछिको आर्थिक मन्दिको असरका रुपमा लिएका छौ,” उनले भने “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रीया पुरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज गर्नेहरू पनि छन् ।” जिल्लामा फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर नै बन्द नभएका अध्यक्ष श्रेष्ठको दाबी छ । उद्योग वाणिज्य संघको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरू पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन् ।

उद्योग तथा व्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले संकलन गर्ने राजस्वमा पनि गिरावट आएको छ । आव २०७९-८० मा रु १९ करोड ४७ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०८०-८१ मा १७ लाख ३८ हजार ५०० राजस्व संकलन गरेको छ । गत वर्ष ३२२ उद्योग र ३९४ व्यवसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगहरूमा ३०६ जनालाई रोजगारी सिर्जना भएको छ । जिल्लामा हाल दुई हजार आठ सय ८९ उद्योग र दुई हजार पाँच सय ४३ व्यवसाय कायम भएका छन् ।

Logo