यसपालिको नाडा अटो शो पहिलेभन्दा भव्य हुने, टिकट खरिदकर्तालाई क्यासब्याक

यसपालिको नाडा अटो शो पहिलेभन्दा भव्य हुने, टिकट खरिदकर्तालाई क्यासब्याक

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । भृकुटीमण्डपको प्रदर्शनी स्थलमा यही भदौ ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने नाडा अटो शो–२०२४ पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको छ । १६औँ संस्करणको यो अटो नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सञ्चालन गर्न लागेको हो ।

नाडा अटो शोले नेपाली अटोमोबाइल क्षेत्रमा महत्त्वपूर्ण योगदान र हजारौँ आगन्तुकहरूलाई प्रत्येक वर्ष आकर्षित गर्दै आएको छ । कार्यवाहक संयोजक अनुपकुमार बरालका अनुसार प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शन गरिने छन् । साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् भने १३० वटा स्टलहरू रहने बताइएको छ ।

आर्थिक चुनौतीहरूका बाबजूद अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्न अटो शोको आयोजना गर्न गइरहेको बरालले बताएका छन् । यस्तै, अटो शोले उद्योगलाई पुनर्जीवित गर्दै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।

नेपालमा चाडपर्वको मौसम नजिकिँदै गर्दा नाडा अटो शोबाट नयाँ मोडेलहरू, प्रविधिहरू र विभिन्न विकल्पहरू तथा व्यावसायिक अवसरहरूको पनि लाभ लिन सक्नेछन् । प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको बताइएको छ ।

अटो शोको प्रवेशका लागि अग्रिम रूपमा टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने नाडाले बताएको छ । अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्ने बताइएको छ । अटो शो अवधिभर करिब ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा नाडाले लिएको छ ।

शोमा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकका रूपमा रहेका छन् । अटो शो अवधिभर पार्किङका साथै सुरक्षाको व्यवस्थापन गरिएको छ । उक्त शो अवधिमा काठमाडौँ भ्यूटावर र धरहरालगायतका स्थानमा पार्किङ गर्न सकिने बताइएको छ ।

Logo